धार्मिक गन्तव्यस्थल बन्दै थानीमाइ मन्दिर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धार्मिक गन्तव्यस्थल बन्दै थानीमाइ मन्दिर

    खबरपुञ्ज संवाददाता

    २५ कार्तिक २०८२, मंगलवार

    दमाैली, २५ कात्तिक । भानु नगरपालिका–७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाइ मन्दिर धार्मिक गन्तव्यस्थलको रुपमा विकास भएको छ । यहाँ फूलको डोली भित्र्याउन देशका विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।

    कात्तिकको तीन वटा मङ्गलबार यहाँ २४ हजार एक सय २७ भक्तजनले दर्शन गरेका छन् । कात्तिकको दोस्रो, तेस्रो र अन्तिम मङ्गलबार मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले दर्शन एवं पूजा गरेको थानीमाइ मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

    कात्तिकको दोस्रो मङ्गलबार ११ गते आठ हजार, तेस्रो मङ्गलबार १८ गते सात हजार पाँच सय ५७ र अन्तिम मङ्गलबार २५ गते ८ हजार पाँच सय ७० भक्तजनले पूजाआजा गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाले जानकारी दिए। कात्तिकको पहिलो मङ्गलबार औंसी परेका कारण फूलको डोली भित्रिएको थिएन ।

    तीन वटा मङ्गलबार मन्दिरमा दुई सय १० फूलको डोली भित्रिएको छ । दाेस्राे मङ्गलबार ८६, तेस्राे मङ्गलबार ५८ र अन्तिम मङ्गलबार ६६ फूलकाे डाेली भित्रिएकाे छ ।

    प्रत्येक वर्ष असोज, कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाई मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् ।

    उक्त महिनाको मङ्गलबार मन्दिरमा फूलको डोली चढाउन सर्वसाधारणको भीड लाग्ने गर्दछ । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाई छ ।

    भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाई मन्दिरको तीनपटक नाचगान गर्दै परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले बसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ

    सोमबार सत्यनारायणको पूजा गरि फूलको डोली तयार गर्ने र थानीमाई मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउन महिना, एकादशी र औंसी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।

    समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाईमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोट लगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ साल वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु ६ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुर्ननिर्माण गरिएको थियो ।

    विसं १८२५ सालबाट यस मन्दिरमा पूजाअर्चना शुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ सालमा मन्दिर भएको ठाउँमा भोटीनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्र्तध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना सुरु भएको स्थानीयवासीको भनाई छ ।