‘अपाङ्गता भएका व्यक्तिको हकअधिकारका लागि प्रतिबद्ध’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘अपाङ्गता भएका व्यक्तिको हकअधिकारका लागि प्रतिबद्ध’

    खबरपुञ्ज संवाददाता

    १७ मंसिर २०८२, बुधबार

    दमौली, १७ मङ्सिर । अपाङ्गता भएका व्यक्तिहरुको ३४ औं अन्तर्राष्ट्रिय दिवस बुधबार दमौलीमा विविध कार्यक्रम सहित मनाइएको छ । व्यास नगरपालिकाले दिवसका अवसरमा दमौलीस्थित खुल्ला मैदानमा खेलकुद सहितका कार्यक्रम गरेको हो

    कार्यक्रममा अपाङ्गता भएका विद्यार्थीबीच बेलुन फुटाइ, म्युजिकल चियर प्रतियोगिताको आयोजना गरिएको छ । कार्यक्रममा नगरपालिकाभित्रका छ वटा अपाङ्गता भएका विद्यार्थी अध्ययन गर्ने विद्यालयबाट सहभागिता रहेको थियो ।

    कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि नगरपालिका सधैं प्रतिबद्ध रहेको बताए । नगरप्रमुख न्यौपानेले कुनै पनि मानिसले अपाङ्गता भएकै आधारमा उपेक्षित हुन नपरोस् भनेर नगरपालिकाले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे । उनले भने, “आर्थिक रुपमा विपन्न विद्यार्थीलाई ल्यापटप सहयोग गरेका छौ । बाख्रापालनमा सहयोग गरेका छौ, सशक्तीकरण लगायतका क्षेत्रमा सहयोग गरिरहेका छौ ।”

    निमित्त प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले दिवसका नारा नारामा सीमित नभइ व्यवहारमा परिवर्तन हुनुपर्ने बताए । सामाजिक व्यवहारहरु समाजमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको अनुुकल हुने गरी सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

    अपाङ्गता अधिकारकर्मी मदन पौडेलले अपाङ्गता दिवस नारामा मात्रै सीमित हुने गरेको गुनासो गरे । उनले भने, “कानुन बनेपछि कार्यान्वयन जटिल छन् । अपाङ्गताको कानुन बनाउने दक्षिण एसियामा नेपाल पहिलो देश हो तर कार्यान्वयन फितलो छ ।”