


दमौली, २३ मङ्सिर । जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षमा करिब १५ हजार जनालाई सेवा प्रदान गरेको छ । कार्यालयले प्रथम त्रैमासिकको अवधिमा १४ हजार नौ सय ४६ जनालाई सेवा प्रदान गरेको हो ।
जेनजी आन्दोलन अगाडी सहज रुपमा सेवा प्रवाह भइरहेपनि भदौदेखि यता भने सेवा प्रवाहमा असहजताका बीचमा पनि सेवा प्रवाह गरिरहेको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । जेनजी आन्दोलनका क्रममा कार्यालय भवन तोडफोड र आगजनी पश्चात् केही समय सेवा पूर्ण रुपमा अवरुद्ध थियो । केही समय पछि कार्यालय भवन मर्मत तथा वैकल्पिक व्यवस्था गरी हाल नियमित रुपमा सबै प्रकारका सेवा प्रवाह भइरहेको प्रजिअ अधिकारीको छ ।
अधिकारीका अनुसार पाँच हजार तीन सय ८८ जनालाई राष्ट्रिय परिचयप, तीन हजार छ सय ५९ जनालाई राहदानी, तीन हजार छ सय सात जनालाई नागरिकता, एक हजार दुई सय १३ जनालाई सिफारिस÷प्रमाणिकरण सेवा प्रदान गरिएको छ ।
यस्तै चार सय ३४ जनाको गुनासो सम्बोधन, तीन सय ९८ जनालाई संस्था दर्ता र नवीकरण, एक सय ४० जनालाई नाबालक परिचयपत्र, ६५ जनालाई हातहतियार नविकरण र नामसारी सेवा प्रदान गरिएको अधिकारीले बताए ।
