


दमौली, २५ मंसिर । तनहुँमा तीन महिनाको अवधिमा तीन हजार छ सय एक जनालाई नागरिकता वितरण गरेको छ । साउनदेखि असोजसम्म एक हजार सात सय २४ नयाँ र एक हजार आठ सय ७७ प्रतिलिपि वितरण गरिएको हो ।
नयाँ नागरिकतातर्फ एक हजार सात सय १४ जनालाई वंशज (बाबुको आधारमा), पाँच जनालाई वंशज (आमाको आधारमा), तीन जनालाई गैरआवासीय र दुई जनालाई वैवाहिक अङ्गिकृत नागरिकता वितरण गरिएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए । नौ सय ३३ महिला र सात सय ९१ पुरुषलाई नागरिकता वितरण गरिएको अधिकारीले उल्लेख गरे ।
प्रतिलिपितर्फ वंशजका आधारमा नौ सय २० महिला र नौ सय ५७ पुरुष गरी एक हजार आठ सय ७७ जनालाई नागरिकता वितरण गरिएको छ । अधिकारीका अनुसार त्यस अवधिमा दुई महिला र चार पुरुष गरी ६ जनाले नागरिकता परित्याग गरेका छन् ।
साउनमा एक हजार चार सय ७९, भदौमा एक हजार ३६ र असोजमा एक हजार ८६ जनालाई नागरिकता वितरण गरिएको अधिकारीले बताए ।
सोही अवधिमा एक सय ४० नाबालक परिचयपत्र वितरण गरिएको छ । अधिकारीका अनुसार नयाँ दर्तातर्फ एक सय ३५ र प्रतिलिपितर्फ पाँच जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ ।
यस्तै कार्यालयले एक हजार छ सय ५३ राहदानी वितरण गरेको छ भने दुई हजार जनाको विवरण सङ्कलन गरेको छ । पाँच हजार तीन सय ८८ जनाको राष्ट्रिय परिचयका लागि विवरण सङ्कलन गरिएको छ भने १० हजार पाँच सय ३६ जनाको परिचयपत्र वितरणका लागि सम्बन्धित पालिकामा पठाइएको जनाइएको छ ।
