एकता सन्देश सभामा भुषालले भनिन् – फागुन २१ को चुनावले देशलाई लयमा ल्याउँछ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एकता सन्देश सभामा भुषालले भनिन् – फागुन २१ को चुनावले देशलाई लयमा ल्याउँछ

    खबरपुञ्ज संवाददाता

    २६ मंसिर २०८२, शुक्रबार

    दमौली, २६ मंसिर । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् ।

    नेपाली कम्युनिष्ट पार्टीले शुक्रबार दमौलीमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै नेतृ भुसालले देशमा सृजना भएको विषम परिस्थिति प्रतिनिधिसभाको चुनावपछि समाधान हुँदै जाने उल्लेख गरिन् ।   
      
    नेतृ भुसालले नेपाली कम्युनिष्ट पार्टी आगामी चुनावमा भाग लिने बताउँदै चुनावको वातावरण सरकारले तयार गर्नुपर्ने बताइन् । निष्पक्ष र स्वतन्त्र निर्वाचन गराउनु सरकारको दायित्व भएको बताउँदै उनले त्यसका लागि सबै राजनीतिक दलले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।   
      
    नेतृ भुसालले भनिन्, “जेनजी आन्दोलनपश्चात देश नै राज्यविहीन अवस्थामा पुगिसकेको थियो, फागुन २१ गतेको चुनाव सम्पन्न गराएर देशलाई लयमा ल्याउनुपर्ने अवस्था छ । संविधान रक्षा गर्दै चुनावले देशलाई लयमा ल्याउँछ ।”   
      
    नेपाली जनताको रगत र पसिनाबाट निर्माण भएको संविधान रक्षा गर्नु सबैको कर्तव्य भएको बताउँदै नेतृ भुसालले जनतामा देखिएको नैराश्यता सम्बोधन गर्नुपर्ने अहिलेको मुख्य आवश्यकता रहेको बताइन् ।   
      
    कार्यक्रममा सो पार्टीका नेता श्रीनाथ बरालले देशलाई स्थिरताको बाटोमा लैजानुपर्ने बताउँदै त्यसैका लागि कम्युनिष्ट पार्टीबीच एकता भएको उल्लेख गरे । सुशासन कायम गर्दै रोजगारी सृजना गर्नुपर्नेमा जोड दिँदै उनले सबै कम्युनिष्ट पार्टीबीच एकताको आवश्यक रहेको चर्चा गरे ।   
      
    पार्टीका नेता हरिबहादुर चुमानले एकताको सन्देश पालिका र वडास्तरसम्म पुर्याउनुपर्ने बताए ।   

    साविक नेकपा एकीकृत समाजवादीका नेता विद्या ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन साविक नेकपा माओवादीकी नेतृ आशा कोइरालाले गरेकी थिइन् ।