


पाल्पा, २७ मंसिर । पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा शुक्रबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा घाइते नवलपुर मध्यविन्दु नगरपालिका–१३ का ३४ वर्षीय सुन्दर विकको उपचारक्रममा चितवनको पुरानो मेडिकल कलेजमा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो ।
यसअघि दुर्घटनामा निस्दी गाउँपालिका–४, मित्याल ठोक्सिङबासकी ४५ वर्षीया ओम कुमारी खाम्चा र निस्दी गाउँपालिका–७, ज्यामिरे हुवासकी ३६ वर्षीया हेम कुमारी सारु, नवलपुर मध्यविन्दु नगरपालिका–१३ की ३१ वर्षीय बुद्धिमाया विकको मृत्यु भएको प्रहरीले जनाएको थियो ।
रामपुर–मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी गाउँपालिका–४, मित्याल च्युरीबास नजिकै एकलफोक्सिङ्गमा लु १ ज ३९०८ नम्बरको जिप दुर्घटना हुँदा मृत्यु भएका सुन्दर र बुद्धिमाया पतिपत्नी हुन् । दुर्घटनामा घाइते आठमध्ये १० वर्षीय लविस सुनार र ५ वर्षकी प्रिन्सा सुनार पनि सुन्दर र बुद्धिमायाका छोराछोरी हुन् ।
निस्दी गाउँपालिका–४, मित्याल लामेदमारका ७३ वर्षीय नरबहादुर सुनारी ७२ वर्षीय भूमीसरा सुनारी, मित्यालीकै २८ वर्षीय सुनारीको उपचार भइरहेको छ । मिनाकुमारीको पूरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । मध्यबिन्दु प्रादेशिक अस्पताल नवलपरासीमा नरबहादुर र भुमिसराको उपचार भइरहेको छ ।