काम अलपत्र पारे ठेक्का रद्द गरिने : मन्त्री घिसिङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काम अलपत्र पारे ठेक्का रद्द गरिने : मन्त्री घिसिङ

    खबरपुञ्ज संवाददाता

    २८ मंसिर २०८२, आईतवार


    दमौली, २८ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले विकासका काम अलपत्र पारे ठेक्का तोडेर अगाडि बढ्नुको विकल्प नरहेको बताएका छन् ।   
      
    तनहुँको शुक्लागण्डकी नगरपालिकामा आइतबार आयोजित स्वागत एवं छलफल कार्यक्रममा मन्त्री घिसिङले विकासका काममा ढिलासुस्ती सैह्य नहुने भन्दै त्यस्ता आयोजनाका ठेक्का तोडेर नयाँ प्रक्रियाका लागि ठेक्का आह्वान गरिने उल्लेख गरे ।   
      
    पूर्वाधार विकासमा निर्माण व्यवसायीले काम नगरे तत्काल ठेक्का तोड्नुपर्छ भन्ने पक्षमा आफू रहेको बताउँदै उनले भने, “प्रदेश सरकारका विकास आयोजना पनि अलपत्र अवस्थामा छन् । त्यसका लागि प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ । पुराना ठेक्का तोडेर कसरी काम गर्न सकिन्छ भन्नेमा लागिपरेको छु ।”   
      
    मन्त्री घिसिङले कतिपय स्थानमा नयाँ पुल, सडक बनाउनुपर्ने अवस्था रहेको बताउँदै भएका सडकको मर्मत गर्नुपर्ने उल्लेख गरे । शुक्लागण्डकी नगरपालिकाका स्थानीयवासीबाट विकास निर्माणका सम्बन्धमा प्रस्तुत भएको ज्ञापनपत्रका विषयमा काठमाडौँ पुगेर सम्बन्धित निकायसँगको समन्वयमा छलफल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।   
      
    तनहुँमा निर्माण हुँदै गरेको तनहुँ जलविद्युत् आयोजनाले आर्थिक रूपमा ठूलो प्रभाव पार्ने मन्त्री घिसिङको भनाइ छ । उक्त आयोजना शतप्रतिशत रूपमा विद्युत् प्राधिकरणको स्वामित्वमा भएकाले जनतालाई शेयर दिन सकिने सकारात्मक पक्ष रहेको उहाँले जानकारी दिए । मन्त्री घिसिङले भने, “यसमा स्रोत सुनिश्चित भइसकेको छ, तर स्थानीयवासीको स्वामित्व कसरी बढाउने भन्नेमा छलफल गरी अगाडि बढ्ने छौँ ।”