


दमौली, ४ पुस । गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले आफ्नो वार्षिक कार्यतालिका अनुसार प्रदान गर्दै आएको विभिन्न विधाका पुरस्कार तथा सम्मानहरूको घोषणा गरेको छ। प्रतिष्ठानले एक भर्चुअल कार्यक्रमको आयोजना गरी भाषा, साहित्य, कला, संगीत र दर्शनको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने पाँच जना प्रतिष्ठित व्यक्तित्वहरूको नाम सार्वजनिक गरेको हो।
यस वर्षको गरिमामय ‘क्षेत्र प्रताप स्मृति साहित्य पुरस्कार-२०८२’ वरिष्ठ गीतकार कालीप्रसाद रिजाललाई प्रदान गरिने निर्णय भएको छ। नेपाली गीत र कविताको क्षेत्रमा रिजालले पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै प्रतिष्ठानले उनलाई यो पुरस्कार अर्पण गर्न लागेको हो। यस्तै, इतिहास र लेखनको क्षेत्रमा सक्रिय प्रा. डा. सुरेन्द्र केसीलाई ‘नेपाल अधिराज्यमा तनहुँ कृति वाङ्मय पुरस्कार-२०८२’ बाट सम्मानित गरिने भएको छ।
सुदूरपश्चिम प्रदेशलाई कर्मथलो बनाएर नेपाली साहित्यको श्रीवृद्धिमा लाग्नुभएका प्राज्ञ यज्ञराज उपाध्यायलाई यस वर्षको ‘गीतल राष्ट्रिय पुरस्कार-२०८२’ प्रदान गरिने प्रतिष्ठानले जनाएको छ। साथै, स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिने ‘गीतल प्रतिभा पुरस्कार-२०८२’ बाट तनहुँकी क्रियाशील साहित्यकार टुकादेवी आचार्यलाई पुरस्कृत गरिने भएको छ। उनले जिल्लामा रही साहित्यको क्षेत्रमा पुर्याउनुभएको सेवालाई मध्यनजर गर्दै सो निर्णय गरिएको हो।
यसैगरी, शैक्षिक र सामाजिक क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएका व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेलाई यस वर्षको ‘सरदार यदुनाथ खनाल सम्मान-२०८२’ समर्पण गरिने भएको छ। न्यौपानेलाई शिक्षाको विकासमा पुर्याएको योगदानको सम्मानस्वरूप यो सम्मान प्रदान गर्न लागिएको हो।
प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीका अनुसार यी सबै पुरस्कार तथा सम्मानहरू आगामी चैत्र महिनामा आयोजना गरिने एक विशेष समारोहका बीच औपचारिक रूपमा वितरण गरिनेछ।