


दमौली, ८ पुस । तनहुँ हाइड्रोपावर लिमिटेडद्वारा निर्माण सम्पन्न हुने क्रममा रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट बन्ने करिब २१ किलोमिटर लामो जलाशय क्षेत्रलाई बहुआयामिक राष्ट्रिय पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न माग गरिएको छ।
तनहुँ हाइड्रोपावर लिमिटेडका कार्यकारी प्रमुख छवि गैह्रे समक्ष मङ्गलबार ज्ञापनपत्र पेश गर्दै आयोजनाबाट प्रभावित म्याग्दे र ऋषिङ गाउँपालिका तथा व्यास र भिमाद नगरपालिकाका स्थानीय समुदायले जलाशयबाट पाउने बहुउपयोगी लाभ सुनिश्चित गर्न १० बुँदे माग अघि सारिएको हो।
पृथ्वी राजमार्ग र मानुङकोटजस्ता चर्चित पर्यटकीय स्थलसँग जोडिएको उक्त जलाशय दुवैतर्फ अग्ला वनजङ्गलयुक्त पहाड र साँघुरो खोँचले घेरिएको विशिष्ट भौगोलिक संरचनामा रहेको उल्लेख गर्दै ऊर्जा उत्पादनसँगै पर्यटन, रोजगारी र स्थानीय अर्थतन्त्रको नयाँ केन्द्र बन्न सक्ने दाबी गरिएको छ।
ज्ञापनपत्रमा जलाशयको ५ किलोमिटर क्षेत्रभित्र सुरक्षित खानेपानी तथा सरसफाइको सुनिश्चितता, मौजुदा सिंचाइ प्रणालीको स्तरोन्नति, आधुनिक प्रविधियुक्त सिंचाइ विस्तार, जलयातायात सेवा सञ्चालन तथा त्यसका लागि आवश्यक पूर्वाधार विकास गर्न माग गरिएको छ।
त्यसैगरी जलाशय क्षेत्रलाई पर्यटन तथा मनोरञ्जनको केन्द्रका रूपमा विकास गर्न सडक, भ्यू–टावर, पार्क, पदमार्ग, क्याम्पिङ, बोटिङ, होमस्टे, रिसोर्ट जस्ता संरचना निर्माण तथा स्थानीय पर्यटन व्यवसायीलाई सीप विकास तालिम र अनुदान उपलब्ध गराउनुपर्ने माग राखिएको छ।
स्थानीय समुदायको जीविकोपार्जनसँग जोडिँदै जलाशयमा आधुनिक माछापालन (केज कल्चर) कार्यक्रम सञ्चालन, सहकारीमार्फत माछा उत्पादन तथा प्रशोधन केन्द्र स्थापना गर्नुपर्ने उल्लेख छ। जलाशयमा जम्मा हुने बालुवा र ढुंगाको व्यवस्थापनमा स्थानीयलाई प्राथमिकता दिँदै निर्माण सामग्री प्रसोधन केन्द्रमा स्थानीय लगानीको अवसर दिनुपर्ने माग पनि गरिएको छ।
यस्तै जलाशय किनारमा होटल, रिसोर्ट तथा व्यवसाय सञ्चालनमा स्थानीयलाई अग्राधिकार, सामाजिक–आर्थिक क्षतिपूर्ति, महिला, युवा, दलित तथा पिछडिएको समुदायका लागि सीप विकास र उद्यमशीलता कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
प्राविधिक तथा वातावरणीय सुरक्षाका विषयमा ढल तथा फोहोर व्यवस्थापन, भूस्खलन न्यूनीकरण, जैविक विविधता संरक्षण र आकस्मिक उद्धार प्रणाली स्थापना आवश्यक रहेको ज्ञापनपत्रमा उल्लेख छ।
जलाशयको दुवैतर्फका डाँडाहरूमा ट्रेकिङ तथा हाइकिङ पदमार्ग, भ्युपोइन्ट, विश्रामस्थल, केबलकार, जिपलाइन र सिसाबाट निर्मित झोलुङ्गे पुल (ग्लास ब्रिज) निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षण बढाउन सकिने प्रस्ताव पनि गरिएको छ।
अवधारणा प्रस्तावक इञ्जिनियर श्रीराम न्यौपानेका अनुसार यी मागहरू जलाशय निर्माणपछि प्रभावित समुदायको दीर्घकालीन हित, सामाजिक न्याय र आर्थिक सशक्तीकरणका लागि अत्यावश्यक छन्। उनले परियोजनाले प्राथमिकताका साथ कार्ययोजना सार्वजनिक गरी सम्बन्धित मन्त्रालय र निकायसँग समन्वय गर्न आग्रह गरे।
ज्ञापनपत्रमा चुडामणि दाहाल (व्यास), विकास सिग्देल (भिमाद), मनोज अधिकारी (म्याग्दे), हरि लम्साल (भिमाद) र रामु नेपाली (ऋषिङ)को समेत समर्थन रहेको छ।
