


दमौली, २ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । साविक सामाजिक विकास कार्यालय तनहुँको भवनमा आज मुख्य निर्वाचन अधिकृतकाे कार्यालय स्थापना गरिएको हो ।
उक्त कार्यालयको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले उद्घाटन गरेका छन् । सो अवसरमा उहाँले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराइने उल्लेख गरे। लोकतन्त्रको उत्तम विकल्प निर्वाचन रहेको बताउँदै उनले ढुक्कसँग निर्वाचनमा सहभागी हुने वातावरण सिर्जना गरिने बताए ।
प्रमुख जिल्ला अधिकारी शिव तिवारीले निर्वाचनमा सुरक्षा प्रबन्ध मजबुद बनाइने बताउँदै निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु सबैको दायित्व भएको बताए।

त्यसक्रममा जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले निर्वाचनको आन्तरिक तयारी तीव्र गतिमा अगाडी बढेको बताए। मतदान सामग्री, जनशक्ति व्यवस्थापन लगायतका कामहरु अगाडी बढेको बताउँदै उनले निर्वाचन सफल बनाउन सबैको सहयोगको अपेक्षा गरे ।
तनहुँ क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय आजै शुक्लागण्डकी नगरपालिकामा स्थापना गरिएकाे छ ।
तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ ।