मुख्यचोकस्थित जेब्रा क्रस नजिक रम्बल स्ट्रिप निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुख्यचोकस्थित जेब्रा क्रस नजिक रम्बल स्ट्रिप निर्माण

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०८२, शनिबार

    दमौली, ३ माघ । दमौलीको मुख्यचोकस्थित जेब्रा क्रस नजिक सडक सुरक्षालाई ध्यानमा राख्दै रम्बल स्ट्रिप निर्माण गरिएको छ । व्यस्त बजार क्षेत्र तथा पैदलयात्रीको चाप बढी रहने मुख्यचोकमा रातिको समयमा सवारी साधन अनियन्त्रित रूपमा उफ्रने तथा उड्ने समस्या देखिएपछि दुर्घटनाको जोखिम न्यूनीकरण गर्न रम्बल स्ट्रिप निर्माण गरिएको हो ।

    स्थानीयवासीका अनुसार जेब्रा क्रस रहेको स्थानमा सडक केही उठेको अवस्थामा रहेकाले विशेषगरी रातिको समयमा तीव्र गतिमा गुड्ने सवारी साधनले अचानक उचाइ भेट्दा गाडी उफ्रने, उड्ने र नियन्त्रण गुमाउने अवस्था सिर्जना हुँदै आएको थियो । यसले सवारी चालक मात्र नभई पैदलयात्रीका लागि समेत गम्भीर जोखिम उत्पन्न गरिरहेको थियो ।

    मुख्यचोक दमौलीको सबैभन्दा व्यस्त स्थानमध्ये एक हो । यस क्षेत्रमा दैनिक रूपमा सयौँ सवारी साधन आवतजावत गर्ने गर्छन् भने सर्वसाधारण, विद्यार्थी, वृद्धवृद्धा र व्यवसायीको आवागमन पनि उत्तिकै हुने गर्दछ । जेब्रा क्रसको प्रयोग बढि हुने भए पनि सवारीको तीव्र गति र सडकको बनावटका कारण दुर्घटनाको सम्भावना बढ्दै गएको सामाजिक अभियान्ता सुदीप गफ्फारले बताए ।

    यही जोखिमलाई मध्यनजर गर्दै क्रस नजिक रम्बल स्ट्रिप निर्माण गरिएकाे हो । रम्बल स्ट्रिपले सवारी साधनको गति घटाउन, चालकलाई सतर्क गराउन र पैदलयात्रीलाई सुरक्षित रूपमा सडक पार गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । विशेषगरी रातिको समयमा र कम दृश्यताका अवस्थामा यसले सवारी चालकलाई चेतावनी दिने काम गर्नेछ ।

    सडक सुरक्षाका विज्ञहरूका अनुसार बजार क्षेत्र, जेब्रा क्रस र विद्यालय आसपासका स्थानमा रम्बल स्ट्रिप प्रभावकारी उपाय मानिन्छ । यसले चालकलाई सचेत गराउने, ट्राफिक नियम पालना गराउन प्रेरित गर्ने र दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने गर्दछ ।