प्रतिनिधि सभा निर्वाचनका लागि एमाले नेतृ भगवती न्यौपानेद्वारा राष्ट्रिय सभाबाट राजीनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रतिनिधि सभा निर्वाचनका लागि एमाले नेतृ भगवती न्यौपानेद्वारा राष्ट्रिय सभाबाट राजीनामा

    खबरपुञ्ज संवाददाता

    ४ माघ २०८२, आईतवार

    दमाैली, ४ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले आफ्नो पदबाट राजीनामा दिएकी छन्। प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिने तयारीका क्रममा संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय सभा सदस्य पदबाट राजीनामा दिएको उल्लेख गरिएको छ।

    न्यौपानेले राष्ट्रिय सभाका अध्यक्षलाई सम्बोधन गर्दै बुझाएको लिखित राजीनामा पत्रमा आफू तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका रूपमा उम्मेदवार बन्न लागेको स्पष्ट गरेकी छन्। संवैधानिक प्रावधानअनुसार एक व्यक्ति एकै समयमा राष्ट्रिय सभा सदस्य र प्रतिनिधि सभा उम्मेदवार बन्न नमिल्ने भएकाले राजीनामा दिनुपरेको उनको भनाइ छ।

    राजीनामा पत्रमा न्यौपानेले राष्ट्रिय सभामा करिब छ वर्ष आठ महिना लामो कार्यकाल पूरा गरेको उल्लेख गर्दै यो अवधि आफ्नो राजनीतिक जीवनका लागि अत्यन्तै महत्वपूर्ण र सिकाइपूर्ण रहेको बताएकी छन्। राष्ट्रिय सभा जस्तो गरिमामय सदनमा रहेर देश र जनताका पक्षमा आवाज उठाउने अवसर पाएकोमा उनले सन्तोष व्यक्त गरेकी छन्।

    उनले राष्ट्रिय सभाको कार्यकालमा विधि निर्माण, जनआवाजको प्रतिनिधित्व र लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने दिशामा आफूले सक्दो योगदान गरेको उल्लेख गरेकी छन्। साथै, सभाध्यक्ष, उपसभाध्यक्ष, विषयगत समितिहरू तथा सहकर्मी सांसदहरूसँगको सहकार्यले आफ्नो अनुभव थप समृद्ध बनेको पनि उनले बताएकी छन्।

    राजनीतिक यात्रामा अब नयाँ जिम्मेवारीका साथ जनतामाझ जाने तयारीमा रहेको उल्लेख गर्दै न्यौपानेले आगामी दिनमा पनि देश र जनताको हितका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। राष्ट्रिय राजनीतिमा देखिएका विभिन्न घटनाक्रमबाट सिक्दै थप जिम्मेवारीका साथ अघि बढ्ने विश्वास समेत उनले व्यक्त गरेकी छन्।