


दमौली, ७ माघ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ छविसेमा भएको सवारी दुर्घटनामा घाइते पैदलयात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
दमौलीबाट पोखरा तर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१–००६ ख ६८१४ नम्बरको बसको ठक्करबाट सोमबार सॉझ घाइते पैदलयात्रीको मङ्गलबार उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
अन्दाजी २५÷३० वर्षीय पुरुषको हालसम्म नाम, थर र वतन नखुलेको उहॉले बताउनुभयो । फरक क्षमता भएका पुरुष गम्भीर घाइते भएका थिए। उनी विगत २–३ दिनदेखि अकला मन्दिर परिसरमा देखिँदै आएका थिए ।
दुर्घटनापछि घाइतेलाई तत्काल उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको थियो। मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ ।
बस चालक जिल्ला चितवन, इच्छाकामना गाउँपालिका–६ कालीखोला बस्ने वर्ष ३८ का मनबहादुर गुरुङलाई इलाका प्रहरी कार्यालय बेलचौतारा, तनहुँले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।