


दमौली, ७ माघ । नेकपा एमालेका केन्द्रीय सदस्य भगवती न्यौपानेले जनताको सुख–दुःखमा सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो जीवन जनताको सेवाका लागि समर्पित रहेको बताएकी छन् । उनले राष्ट्रप्रति अगाध माया भएको उल्लेख गर्दै स्वाधीनता र राष्ट्रियताको सवालमा एमाले सधैं दृढ रूपमा उभिँदै आएको स्पष्ट पारिन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा तनहुँ-१ का उम्मेदवार न्यौपानेले भनिन्, ‘राष्ट्रियता र स्वाधीनताको रक्षा एमालेको मूल एजेन्डा हो ।’ यस क्षेत्रको विकासमा आफूले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्दै उनले मन्त्री बनेको छोटो अवधिमै कर्मचारी प्रशासन सुधारमा उल्लेखनीय कामको थालनी गरिएको बताइन् ।
मन्त्री पद सम्हालेपछि ५३ दिनभित्रै कर्मचारी प्रशासन सुधारका लागि महत्वपूर्ण निर्णय र पहल अघि बढाइएको उनको भनाइ थियो। उनले कर्मचारी प्रशासनलाई चुस्त, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यका साथ सुधारको प्रक्रिया सुरु गरिएको बताइन् ।
तनहुँका बस्ती–बस्तीबारे आफूलाई राम्रो जानकारी रहेको उल्लेख गर्दै उनले तनहुँ–१ को समग्र विकास र मुहार फेर्न स्पष्ट र दीर्घकालीन विकास खाका आवश्यक रहेको बताइन्। “यस क्षेत्रको आवश्यकता बुझेर योजनाबद्ध ढंगले विकास अघि बढाउनुपर्छ,” उनले भनिन् ।
उनले हाल सरकारमा एमाले सहभागी नभए पनि एमालेमाथि लागेका आरोपहरूबारे निष्पक्ष छानबिन गर्न आग्रह गरिन् । साथै, जेनजीले उठाएका सुशासनका सवालमा एमाले सधैं समर्थनमा रहेको उनले स्पष्ट पारिन् ।