


दमौली, ७ माघ । व्यास नगरपालिका-२ बालमन्दिर माध्यमिक विद्यालयमा कार्यरत शिक्षक गोकुल थापा र उनका साथी पश्चिम नवलपरासीको भुजुहवा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवलदार कमल थापा मगरले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्।
रोजगारीको सिलसिलामा मलेसियामा रहँदा दिवङ्गत भएका आफ्ना साथी स्वर्गीय सुमन थापा मगरको स्मृतिमा दुई साथी गोकुल र कमलले संयुक्त रूपमा “साथी सुमन अक्षयकोष” स्थापना गरेका हुन् । उनीहरू तिनैजनाले बाल्यकालदेखि अध्ययन गरेको विद्यालय व्यास-१४ स्थित केशवटार माध्यमिक विद्यालयमा ५० हजार बराबरको अक्षयकोष स्थापना गरिएको अक्षयकोषका संस्थापक गोकुल थापाले बताए ।
उनका अनुसार विद्यालयको ५३ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा उक्त अक्षय कोष रकम हस्तान्तरण गरिएको छ। उक्त अक्षयकोषबाट प्राप्त हुने व्याज रकमबाट विद्यालयमा अध्ययनरत वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका, अङ्गभङ्ग भएका वा विदेशी रोजगारीमा गएर पनि अत्यन्त न्यून आर्थिक अवस्था भएका परिवारका विद्यार्थीहरूमध्येबाट हरेक वर्ष एक जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने अक्षय कोष स्थापनाकर्ता गोकुल थापाले जानकारी दिए।
उक्त अक्षय कोष स्थापनाको कार्य मानवीय र प्रेरणादायी कार्य भएको व्यास १४ का कार्यभाग अध्यक्ष दुर्गालेले बताए आफ्ना स्वर्गीय साथीको स्मृतिमा गरिएको कार्यले समाजका विपन्न तथा पहुँचविहीन वर्गसम्म सहयोग पुग्ने उनले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार थापाले यस्तो सामाजिक उत्तरदायित्वयुक्त कार्यले अन्य व्यक्ति तथा संस्थालाई पनि प्रेरणा दिने विश्वास व्यक्त गरे। दुवै अक्षयकोषदाता गोकुल र कमल तनहुँ जिल्ला, व्यास नगरपालिका–१४, रुम्सी स्थायी घर भएका हुन् ।