


दमौली, ८ माघ । तनहुँको व्यास नगरपालिका-१० खहरेस्थित मादी नदीको किनारमा अवस्थित छाङ्गा बाराही मन्दिर पछिल्लो समय धार्मिक आस्था र पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ। प्रसिद्ध छाब्दी बाराही मन्दिरको ‘बहिनी’ का रूपमा परिचित यो मन्दिरमा भाकल गरेअनुसार मनोकांक्षा पूरा हुने जनविश्वासका कारण भक्तजनहरूको चहलपहल बढ्न थालेको हो।
मन्दिरको उत्पत्तिबारे रोचक लोककथा जोडिएको छ। स्थानीय बुढापाकाका अनुसार, कुनै समय एक व्यक्तिले सिमलको रुख काटेर डुँड बनाउन खोज्दा अचानक उनको हातमा कडा दुखाइ सुरु भएको थियो। पछि दुम्सिचौरका ज्योतिषीकहाँ आखर हेराउँदा उक्त रुखमा देवीको वास रहेको र त्यहाँ पानीका धारा र माछाहरू खेलिरहेको रहस्य खुलेको थियो। वैशाख १ गतेका दिन गाउँलेहरू मिलेर पूजा गरेपछि ती व्यक्ति निको भएको विश्वासका आधारमा यो मन्दिरको धार्मिक महिमा स्थापित भएको पुजारी धनराज दरै बताउँछन्।
मन्दिरको विकासक्रम राजनीतिक उतारचढावसँग पनि जोडिएको छ। तत्कालीन समयमा पुरुषोत्तम काफ्ले र नेत्र बहादुर दरैले चुनाव जित्ने भाकल गरी मन्दिरको कच्ची संरचना निर्माण सुरु गरेका थिए। मन्दिरको शक्तिको चर्चा गर्दै पुजारी दरैले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले समेत यसै मन्दिरमा टीका र आशीर्वाद ग्रहण गरी चुनाव जितेको र उहाँको मनोकांक्षा पूर्ण भएको उल्लेख गरे।
मादी नदीको मनोरम किनारमा अवस्थित यस मन्दिर परिसरमा अहिले बृहत पिकनिक स्पट (बनभोज स्थल) निर्माण गरिएको छ। १५०० रुपैयाँ शुल्क तिरेपछि पिकनिक सुविधा प्रयोग गर्न सकिन्छ। स्थानीय आमा समूहमार्फत भाँडाकुँडा र अन्य व्यवस्थापनको सहयोग लिन सकिने व्यवस्थाले आन्तरिक पर्यटकहरूलाई थप सहज बनाएको छ। एकादशी र औंसी बाहेक सबै दिन मन्दिर खुला रहने र विशेषगरी दशैंमा यहाँ चार दिनसम्म भव्य मेला लाग्ने गर्दछ।
मन्दिरको लोकप्रियता बढ्दै गए पनि सुरक्षा र व्यवस्थापनमा भने केही चुनौतीहरू देखिएका छन्। मन्दिरको दानपेटिकामा संकलन भएको रकम चोरी हुने गरेकाले पुजारीहरू चिन्तित छन्। मन्दिरका पुजारी दरै र ईश्वर बास्तोलाका अनुसार चोरीको उजुरी प्रहरीमा गर्दा पनि चोर पत्ता नलागेपछि अहिले मन्दिरको रेखदेख स्वयं पुजारीहरूले नै गर्दै आएका छन्। मन्दिरको स्तरउन्नति र सुरक्षाका लागि चौकिदारको तत्काल आवश्यकता रहेको पुजारी दरैको भनाइ छ।
हाल मन्दिर परिसरलाई थप व्यवस्थित र सौन्दर्यकरण गर्ने कार्य जारी रहेको छ। प्राकृतिक सुन्दरता र धार्मिक शक्तिको संगम रहेको यो क्षेत्रलाई संरक्षण र प्रवर्द्धन गर्न सके तनहुँको धार्मिक पर्यटनमा यसले ठूलो टेवा पुर्याउने देखिन्छ। (इश्वर बास्तोलाको सहयोगमा)