तनहुँमा चार जनामात्रै महिला उम्मेदवार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा चार जनामात्रै महिला उम्मेदवार

    खबरपुञ्ज संवाददाता

    ८ माघ २०८२, बिहीबार

    दमाैली, ८ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा चार जना महिला उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् । तनहुँका दुवै क्षेत्रमा २८ जनाको उम्मेदवारी परेकामा त्यसमध्ये चार जना मात्रै महिला उम्मेदवार छन् ।

    तनहुँ क्षेत्र नम्बर १ मा १६ उम्मेदवारमध्ये तीन महिला र क्षेत्र नम्बर २ मा १२ उम्मेदवारमध्ये एक जना महिला उम्मेदवार प्रतिस्पर्धामा छन् ।

    मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार क्षेत्र नम्बर १ मा आम जनता पार्टीबाट तनहुँको भानु नगरपालिका–१२ निवासी चिजामाया अधिकारी, नेकपा (एमाले) का तर्फबाट भानु नगरपालिका–८ निवासी भगवती न्यौपाने र नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर नगरपालिका–४ निवासी रामलक्ष्मी दुवालको उम्मेदवारी दर्ता भएको छ ।

    क्षेत्र नम्बर २ मा मङ्गोल अर्गनाइजेशन पार्टीबाट ऋषिङ गाउँपालिका–६ निवासी सुष्मा आलेको उम्मेदवारी दर्ता भएको छ ।

    राजनीतिक दलहरूले समावेशीताको कुरा उठाए पनि प्रत्यक्ष निर्वाचनमा महिलालाई उम्मेदवार बनाउने अभ्यास अझै सीमित रहेको देखिन्छ । स्थानीय स्तरका सरोकारवालाहरूले महिला सहभागिता बढाउन दलहरूले स्पष्ट नीति र साहसिक निर्णय लिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

    निर्वाचन कार्यालय तनहुँका प्रमुख विकास लम्सालले उम्मेदवारी दर्ता भएसँगै निर्वाचनका कामहरु तीव्र गतिमा अगाडी बढाइएको जानकारी दिए । निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ ।

    लम्सालले जिल्लास्थित दश पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा रहेको जानकारी दिए ।