


दमौली, ११ माघ । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा आज बिहान भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
कोलडाँडा थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग ३ च ५८३८ नम्बरको जीप सडकबाट अन्दाजी २० मिटर तल खस्दा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा म्याग्दे गाउँपालिका–४ कोलडाँडा बस्ने १३ वर्षीया कोइस्का घर्ती रहेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते घर्तीलाई बिहान ८ः४० बजे प्रदेश अस्पताल दमौलीमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा सोही ठाउँका १५ वर्षीय दिपसन घर्ती घाइते भएको र उनको उपचार भइरहेको छ । प्रहरीले चालक ३० वर्षीय बसन्त घर्तीलाई नियन्त्रणमा लिएको छ ।