


दमौली, १६ माघ । सहिद दिवसको अवसरमा आज बिहान मानुङकोटदेखि पुलिमराङसम्मको ४४ किलोमिटर दूरीको अल्ट्रा म्याराथन सुरु भएको छ । व्यास नगरपालिकाको आयोजनामा व्यास नगरपालिका–५ मानुङकोटदेखि म्याराथन सुरु भएको हो । म्याराथन व्यास नगरपालिका–८ पुलिमराङ पुगेर टुङ्गिनेछ ।
म्याराथनमा ४२ जना धावकको सहभागिता रहेको छ । म्याराथन मानुङकोट सिद्ध मार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीवेशी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिनेछ ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ८५ हजार ८२, द्वितीय हुनेलाई रु ६५ हजार ८२, तृतीय हुनेलाई रु ५५ हजार ८२, सान्त्वना हुने पाँच जनालाई जनही रु १६ हजार ८२ नगद पुरस्कार प्रदान गरिनेछ ।