


दमौली, १६ माघ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै तनहुँ निर्वाचन क्षेत्र नं. १ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार मन्जिल रानाले घरदैलो अभियानलाई तीव्र बनाएका छन्।
रानाले निर्वाचन क्षेत्रका विभिन्न गाउँ–टोल तथा बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनताको गुनासो, समस्या र अपेक्षा सुन्दै आएका छन्। घरदैलो क्रममा उनले स्थानीय विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र सुशासनका विषयलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार रानाले “जनताका समस्या नजिकबाट बुझेर समाधान खोज्ने प्रतिनिधि आवश्यक छ” भन्दै संसद् जनताको आवाज बोल्ने थलो हुनुपर्ने धारणा व्यक्त गरेका छन्। उनले केन्द्रमुखी नीति भन्दा स्थानीय आवश्यकतामा आधारित विकासको खाका अघि सार्न आफू चुनावी मैदानमा उत्रिएको बताए।
स्थानीय बासिन्दाले समेत रानासँग खुलेर आफ्ना समस्या राख्दै परिवर्तनको अपेक्षा व्यक्त गरेका छन्। उम्मेदवार रानाले घरदैलो अभियानलाई निर्वाचन अवधिभर निरन्तर जारी राख्ने जनाउँदै जनताको विश्वास जितेरै चुनावमा होमिएको बताएका छन्।
