तनहुँ-१ का राप्रपा उम्मेदवार जोशी भन्छन् – जनताले हाम्रो योजना मन पराए चुनाव जित्छु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-१ का राप्रपा उम्मेदवार जोशी भन्छन् – जनताले हाम्रो योजना मन पराए चुनाव जित्छु

    खबरपुञ्ज संवाददाता

    २६ माघ २०८२, सोमबार

    दमौली, २६ माघ । तनहुँ–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रामदत्त जोशी (अभिषेक) ले आफ्नो प्रतिष्पर्धी अरु उम्मेदवार नभई जनता रहेको बताएका छन् । उनले तनहुँ-१ का उम्मेदवार सबै गणतन्त्रवादी रहेको र आफूमात्रै राजसंस्थावादी र हिन्दुराष्ट्रवादी रहेको उल्लेख गरे ।

    उनले आफू जित्नैपर्ने मानसिक दबाबमा नरहेको बताउँदै कति मानिसमाझ हाम्रो सन्देश जान्छ त्यसले अर्थ राख्ने बताए । राजसंस्था र हिन्दुराष्ट्र मुख्य एजेण्डा रहेको उल्लेख गर्दै उनले जनताले यसका लागि मत प्रकट गर्नुपर्ने बताए ।

    उनले धार्मिक तथा सांस्कृतिक महत्व बोकेको तनहुँलाई विश्वमाझ चिनाउने प्रतिबद्धता व्यक्त गरे । व्यासभूमि र देवघाट जस्ता धार्मिक स्थलको उचित प्रचार–प्रसार गर्दै धर्म र संस्कृतिलाई विकासको आधार बनाइ देशलाई समृद्ध बनाउने आफ्नो योजना रहेको उनले बताएका छन्। धार्मिक पर्यटन प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने र राष्ट्रिय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्यसहित आफू चुनावी मैदानमा उत्रिएको जोशीको भनाइ छ।

    सोमबार दमौलीमा पत्रकार सम्मेलन गरी जोशीले चुनावी आश्वासन बाँड्ने काममा आफू विश्वास नगर्ने उल्लेख गर्दै सम्भव र व्यवहारिक हुने आश्वासन मात्रै दिने स्पष्ट पारेका छन्। जनतासँग गरिने प्रतिबद्धता पूरा गर्न सकिने खालको हुनुपर्नेमा उनले जोड दिएका छन्।

    उनले धर्म, संस्कृति र आस्थाको संरक्षणसँगै विकासलाई अगाडि बढाउने नीति अपनाइने बताए।

    जोशीले जनता आकर्षित गर्न मन्दिर चाहर्ने उम्मेदवार बढी रहेको बताउँदै हिन्दुराष्ट्र भन्न नसक्ने तर मन्दिर चहारेर मत बटुल्ने पक्षमा रहेको आरोप लगाए ।