


दमौली, १३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ–१ का उम्मेदवार स्वर्णिम वाग्लेले आफू आर्थिक लाभका लागि नभई देश बनाउने उद्देश्यले राजनीतिमा लागेको बताएका छन्।
तनहुँको बन्दीपुरस्थित रामकोटमा बुधबार घरदैलो तथा भेटघाट कार्यक्रममा बोल्दै उनले भने, “अमेरिकामा दशौँ लाख कमाउने मान्छे नेपाल आएर किन राजनीति गरेको भन्ने प्रश्न धेरैले गर्नुहुन्छ। यहाँ धुलो, धुवा र दुःख छ भनेर गाली पनि गर्छन्। तर मलाई देश बनाउने इच्छा छ, तनहुँ बनाउने इच्छा छ।”
उनले आफू पैसा कमाउन नभई नाम कमाउन नेपाल फर्किएको स्पष्ट पार्दै थपे, “मेरो कामले जनताले मलाई सम्झिराखून् भन्ने लोभ छ। व्यक्तिगत स्वार्थका लागि होइन, परिणाम देखिने काम गर्न राजनीतिमा आएको हुँ।”
वाग्लेले आगामी निर्वाचनमा रास्वपाको बहुमत आउने दाबी गर्दै पार्टीले देश निर्माणको जिम्मेवारी बहन गर्ने विश्वास व्यक्त गरे। “रास्वपाले बहुमत ल्याउँछ र देश बनाउने काम अघि बढाउँछ,” उनले भने।