डा. स्वर्णिम वाग्ले भन्छन् : राजनीतिक संस्कार सुधारको निर्णायक घडी आयो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    डा. स्वर्णिम वाग्ले भन्छन् : राजनीतिक संस्कार सुधारको निर्णायक घडी आयो

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०८२, सोमबार

    दमौली, १८ फागुन । आम निर्वाचन २०८२ लाई नियमित चुनावभन्दा फरक र ऐतिहासिक अवसरको रूपमा चित्रण गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा तनहुँ–१ का संघीय सांसद उम्मेदवार स्वर्णिम वाग्लेले राजनीतिक संस्कार सुधारको निर्णायक घडी आएको बताएका छन्।

    मौन अवधि सुरु हुनु केही घण्टा अगाडी सामाजिक सञ्जालमार्फत् वाग्लेले भने, ‘तीन दशकमा धेरै सरकार देख्यौं, तर बलियो प्रणाली कम देख्यौं, अनुहार फेरिए पनि शासन शैली उस्तै रह्ये ।’

    उनले दलले दोहन गर्ने राज्य होइन, नागरिकको सेवा गर्ने राज्य आवश्यक रहेको धारणा राखे। विश्वविद्यालय ज्ञानको केन्द्र, अस्पताल सेवाको केन्द्र र प्रशासन पेशागत तथा देशप्रति निष्ठावान हुनुपर्नेमा उनले जोड दिए। पारदर्शिता, जवाफदेहिता र मेरिटको आधारमा निर्णय प्रक्रियालाई संस्थागत गर्नुपर्ने उनको प्रतिबद्धता छ।

    आर्थिक दृष्टिले उत्पादन र उत्पादकत्वलाई प्राथमिकता दिने बताउँदै उनले उद्यमशील युवालाई अवसर, साना व्यवसायलाई सहजीकरण, वृहत् लगानीको प्रोत्साहन तथा आर्थिक अपराधमाथि कडाइ गरिने बताए। “परिश्रम गर्ने नागरिकलाई सम्मान र परिणाम दिने राज्य निर्माण हाम्रो लक्ष्य हो,” उनले भने।

    डिजिटल शासनमार्फत लाइनभन्दा अनलाइन सेवामा जोड दिँदै उनले प्रविधिमार्फत पारदर्शिता र दक्षता अभिवृद्धि गर्ने योजना प्रस्तुत गरे। ज्ञान–आधारित अर्थतन्त्र निर्माणमार्फत प्रतिभा पलायन रोक्ने र अवसर सिर्जना गर्ने उनको भनाइ छ।

    “यो चुनाव केवल सिटको गणित होइन; यसले भविष्यको दिशानिर्देश तय गर्नेछ,” उनले भने, “कुशासनको निरन्तरता कि सार्थक परिवर्तन भन्ने निर्णय अब मतदाताको हातमा छ।”