विकास देखिने, सेवा महसुस हुने क्षेत्र बनाउनका लागि सूर्यमा मतदान : भगवती न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विकास देखिने, सेवा महसुस हुने क्षेत्र बनाउनका लागि सूर्यमा मतदान : भगवती न्यौपाने

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०८२, सोमबार

    दमौली, १८ फागुन । नेकपा एमाले तनहुँ क्षेत्र नं. १ की प्रतिनिधिसभा उम्मेदवार भगवती न्यौपानेले मौन अवधि सुरु हुनु अगाडी मतदातासँद मतको अपिल गरेकी छन् । भानु नगरपालिका–८, देउरालीटारमा जन्मेर हुर्किएको उल्लेख गर्दै उनले आफ्नो जीवनका हरेक पाइला तनहुँकै भूगोलसँग जोडिएको बताइन्।

    विद्यार्थी राजनीति हुँदै पार्टी संगठनका विभिन्न जिम्मेवारी सम्हालेको अनुभव सुनाउँदै उनले गाउँ–गाउँ डुल्दा र जनताका सुख–दुःखमा सहभागी हुँदा सधैं मतदाताकै बीचमा रहेको दाबी गरिन्। “तनहुँका १० वटै पालिका, हरेक वडा र बस्तीमा पुगेकी छु। घरआँगनमै बसेर दुःख सुनेकी छु, समस्या देखेकी छु,” उनले भनिन्, “तपाईंहरूको आशा र भरोसा नै मेरो सबैभन्दा ठूलो पूँजी हो।”

    प्रतिनिधिसभा निर्वाचन २०८२ लाई महत्वपूर्ण अवसरका रूपमा चित्रण गर्दै उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्र कागजी दस्तावेज मात्र नभई जीवनभरको अनुभव र उत्तरदायित्वको प्रतिज्ञा भएको उल्लेख गरिन्। निर्वाचित भए संघीय संसदमा सशक्त आवाज उठाउँदै कानुन निर्माण, नीति सुधार र न्यायोचित बजेट विनियोजनमार्फत तनहुँ–१ का पाँचै पालिकालाई विकास र सेवा प्रवाहको उत्कृष्ट नमुना बनाउने अटल संकल्प व्यक्त गरिन्।

    उनले व्यास नगरपालिकालाई आधुनिक तथा प्रविधिमैत्री सेवा केन्द्र, भानु नगरपालिकालाई कृषि उत्पादन र साहित्यिक आधारभूमि, आबुखैरेनी गाउँपालिकालाई व्यापार तथा लगानीको प्रवेशद्वार, देवघाट गाउँपालिकालाई आस्था र आध्यात्मिक पर्यटनको केन्द्र तथा बन्दीपुर गाउँपालिकालाई दीगो पर्यटन अर्थतन्त्रको सशक्त मोडेलका रूपमा विकास गर्ने स्पष्ट दृष्टि प्रस्तुत गरिन्।

    घरदैलो अभियानअन्तर्गत ४२ वटै वडाका प्रत्येक घरमा पुग्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले विभिन्न कारणले सबै घरमा व्यक्तिगत रूपमा पुग्न नसकेको भए पनि सधैं मतदातासँगै रहने प्रतिबद्धता जनाइन्। “म उम्मेदवार मात्र होइन, तपाईंहरूकै छोरी हुँ,” उनले भनिन्, “यो निर्वाचनमा उम्मेदवार स्वयं तपाईंहरू नै हुनुहुन्छ।”