


दमौली, १९ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाइ मतगणनास्थल निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।
प्रजिअ तिवारीका अनुसार तनहुँ क्षेत्र नम्बर १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ । उक्त कार्यालय व्यास नगरपालिका–३ दमौलीस्थित एकीकृत सेवा कार्यालयको भवनमा रहेको छ ।
यस्तै, तनहुँ क्षेत्र नम्बर २ को मतगणना शुक्लागण्डकी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा हुने निर्णय गरिएको छ ।
प्रजिअ तिवारीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनास्थल तयार भइसकेको जानकारी दिए । तिवारीले भने, “क्षेत्र नम्बर १ को मतगणनास्थल कहाँ राख्ने भनेर एक–दुई स्थान निरीक्षण गरेका थियौँ । सुरक्षाका दृष्टिले पनि मुख्य निर्वाचन अधिकृतको कार्यालय (एकीकृत सेवा कार्यालय) मै गणनास्थल बनाउने निर्णय भएको हो ।”
मतगणनास्थलमा आवश्यक सुरक्षा प्रबन्ध, सीसी क्यामेरा जडान, तारजाली, अवलोकन कक्ष तथा उम्मेदवार÷प्रतिनिधिका बस्ने व्यवस्था मिलाइएको छ । साथै मतपेटिका सुरक्षित रूपमा राख्नका लागि कडा सुरक्षासहितको कोठा तयारी गरिएको छ ।
प्रजिअ तिवारीले मतदानपछि मतपेटिका सम्बन्धित मतगणनास्थलमा सुरक्षित रूपमा ल्याइनेछ र सर्वदलीय सहमतिमा मतगणना प्रक्रिया अघि बढाइनेछ ।
तनहुँ क्षेत्र नम्बर १ तर्फ १६ र क्षेत्र नम्बर २ तर्फ ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २६ हजार आठ सय ८२ र र क्षेत्र नम्बर २ तर्फ एक लाख २७ हजार पाँच सय १५ मतदाता कायम भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले बताए ।
क्षेत्र नम्बर १ मा पुरुषको सङ्ख्या ६१ हजार सात सय ७८ र महिलाको सङ्ख्या ६५ हजार एक सय चार रहेको छ । क्षेत्र नम्बर २ मा पुरुषको सङ्ख्या ६१ हजार सात सय १३ र महिलाको सङ्ख्या ६५ हजार आठ सय दुई रहेको छ ।
क्षेत्र नम्बर १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ । क्षेत्र नम्बर २ तर्फ शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको वडा नम्बर ५ र ६ पर्दछ ।