


दमाैली, २० फागुन । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँले निर्वाचनको सम्पूर्ण तयारी सकिएको जानकारी दिएको छ ।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जिल्लास्थित सबै मतदान केन्द्र तयार भइसकेको र तयारी सकिएको जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले ढुक्कसँग मतदानमा सहभागी हुन जिल्लास्थित सबै मतदातालाई आग्रह गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले निर्वाचनमा सुरक्षा प्रबन्ध मजबुद बनाइएकाले निर्धक्क भएर मतदानमा सहभागी हुन आव्हान गरे ।
तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी २७ उम्मेदवार प्रतिस्पर्धामा छन् । तनहुँ क्षेत्र नम्बर १ मा १६ जना र क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवार चुनावी दौडमा छन् ।
जिल्लामा एक सय ४४ मतदान स्थल र तीन सय नौ मतदान केन्द्र छन् । क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा ७५ मतदानस्थल र एक सय ५६ मतदान केन्द्र रहेका छन् ।
निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता कायम भएका छन् । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ ।
दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २६ हजार आठ सय ८२ र र क्षेत्र नम्बर २ तर्फ एक लाख २७ हजार पाँच सय १५ मतदाता कायम भएका छन् । क्षेत्र नम्बर १ मा पुरुषको सङ्ख्या ६१ हजार सात सय ७८ र महिलाको सङ्ख्या ६५ हजार एक सय चार रहेको छ । क्षेत्र नम्बर २ मा पुरुषको सङ्ख्या ६१ हजार सात सय १३ र महिलाको सङ्ख्या ६५ हजार आठ सय दुई रहेको छ ।
क्षेत्र नम्बर १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ । क्षेत्र नम्बर २ तर्फ शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको वडा नम्बर ५ र ६ पर्दछ ।