तनहुँमा ५१.७४ प्रतिशत मत खस्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा ५१.७४ प्रतिशत मत खस्यो

    खबरपुञ्ज संवाददाता

    २० फाल्गुन २०८२, बिहीबार

    दमौली, २१ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा ५१.७४ प्रतिशत मत खसेको छ । जिल्लामा आज शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ ।

    जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले दुई निर्वाचन क्षेत्र रहेको तनहुँमा एक लाख ३१ हजार छ सय २० जनाले मतदान गरेको जानकारी दिए। लम्सालका अनुसार ७१ हजार तीन सय ६९ महिला र ६० हजार दुई सय ५१ जना पुरुषले मतदान गरेका छन् ।

    विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँमा ५५ प्रतिशत मत खसेको थियो ।

    तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका मतदान केन्द्रको मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा र क्षेत्र नम्बर २ अन्तर्गतका मतदान केन्द्रको मतपेटिका निर्वाचन अधिकृतको कार्यालय दुलेगौडामा सङ्कलन भइरहेको छ ।

    क्षेत्र नम्बर १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा र क्षेत्र नम्बर २ को मतगणना निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ ।

    सबै मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायले जानकारी दिए।

    तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी २७ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । तनहुँ क्षेत्र नम्बर १ मा १६ जना र क्षेत्र नम्बर २ मा ११ जना उम्मेदवार चुनावी दौडमा हुनुहुन्छ ।

    जिल्लामा एक सय ४४ मतदान स्थल र तीन सय नौ मतदान केन्द्र छन् । क्षेत्र नम्बर १ मा ६९ मतदानस्थल र एक सय ५३ मतदान केन्द्र तथा क्षेत्र नम्बर २ मा ७५ मतदानस्थल र एक सय ५६ मतदान केन्द्र रहेका छन् ।

    निर्वाचनका लागि तनहुँमा दुई लाख ५४ हजार तीन सय ९७ मतदाता थिए । त्यसमध्ये पुरुषको सङ्ख्या एक लाख २३ हजार चार सय ९१ र महिलाको सङ्ख्या एक लाख ३० हजार नौ सय छ जना रहेको छ ।

    दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २६ हजार आठ सय ८२ र र क्षेत्र नम्बर २ तर्फ एक लाख २७ हजार पाँच सय १५ मतदाता कायम भएका छन् । क्षेत्र नम्बर १ मा पुरुषको सङ्ख्या ६१ हजार सात सय ७८ र महिलाको सङ्ख्या ६५ हजार एक सय चार रहेको छ । क्षेत्र नम्बर २ मा पुरुषको सङ्ख्या ६१ हजार सात सय १३ र महिलाको सङ्ख्या ६५ हजार आठ सय दुई रहेको छ ।