


दमाैली, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा तनहुँ जिल्लाको क्षेत्र नम्बर १ मा आज बिहान ११ बजेसम्मको प्राप्त परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता कायमै राखेको छ । रास्वपाका डा. स्वर्णिम वाग्लेले दुई हजार नौ सय २८ मत प्राप्त गरी अग्रता लिनुभएको हो ।
मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार नेपाली काङ्ग्रेसका गोविन्द भट्टराईले एक हजार छ सय ५७ मत प्राप्त गरी वाग्लेलाई पछ्याउँदै हुनुहुन्छ ।
त्यस्तै एक हजार एक सय एक प्राप्त गरी नेकपा (एमाले)का भगवती न्यौपाने तेस्रो स्थानमा हुनुहुन्छ ।
नेपाली कम्युनिष्ट पार्टीका विद्यानाथ ढकालले तीन सय २३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ८६ मत प्राप्त गर्नुभएको छ ।
यो क्षेत्रमा हालसम्म देवघाट गाउँपालिकाको छ हजार पाँच सय ६६ मतगणना भएको छ । त्यसमध्ये छ हजार दुई सय ३४ मत सदर भएको छ भने तीन सय ३२ मत बदर भएको छ ।
सो निर्वाचन क्षेत्रमा कूल एक लाख २६ हजार आठ सय ८२ मतदाता भएकामा निर्वाचनमा ६८ हजार एक सय २९ मत खसेको थियो । उक्त निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र समेत गरी जम्मा १६ जना प्रत्यासी हुनुहुन्छ ।