


दमौली, २४ फागुन । नेपाली कांग्रेस तनहुँले प्रतिनिधि सभा निर्वाचनपछि समीक्षा बैठक गर्दै मतदाताप्रति धन्यवाद व्यक्त गरेको छ।
आइतबार पार्टी कार्यालय वि.पि. स्मृति भवन दमौलीमा जिल्ला सभापति जीतप्रकाश आलेको सभापतित्वमा बसेको फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीका पक्षमा मतदान गर्ने मतदाता, प्रचार–प्रसारमा सक्रिय हुने कार्यकर्ता तथा शुभेच्छुकलाई हार्दिक धन्यवाद दिने निर्णय गरेको हो।
बैठकमा तनहुँका दुवै निर्वाचन क्षेत्रका प्रतिनिधि सभा उम्मेदवारहरू शंकर भण्डारी र गोविन्द भट्टराई र पार्टीका केन्द्रीय सदस्यहरू तथा जिल्लामा उपलब्ध विभिन्न तहका अग्रज नेताहरूको सहभागिता रहेको थियो।
बैठकले निर्वाचन परिणाम अप्रत्यासित र अनपेक्षित भए पनि नेपाली कांग्रेस तनहुँ लोकतन्त्र र जनादेशको पक्षमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ। साथै, छिट्टै वडागत तथा मतदान केन्द्रस्तरमा निर्वाचन परिणामको यथार्थ समीक्षा गर्ने निर्णय समेत गरिएको सभापति आलेले जानकारी दिएका छन्।
नेपाली कांग्रेस तनहुँले मतदाता तथा समर्थकबाट प्राप्त साथ, सहयोग र समर्थनलाई सदैव उच्च सम्मान गर्ने पनि जनाएको छ।