


दमौली, २५ फागुन । तनहुँ–१ मा प्रतिनिधिसभा निर्वाचनको मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फभन्दा समानुपातिकतर्फ बढी मत प्राप्त गरेको छ।
प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेले ३८ हजार ४० मत प्राप्त गरेका छन् भने समानुपातिकतर्फ पार्टीले ३८ हजार ८०७ मत पाएको छ। यसले प्रत्यक्षभन्दा समानुपातिकमा ७६७ मत बढी रहेको देखाएको छ।
यता नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले प्रत्यक्षतर्फ १६ हजार २३१ मत पाएका छन् भने समानुपातिकतर्फ कांग्रेसले १५ हजार १७२ मत प्राप्त गरेको छ।
त्यसैगरी नेकपा एमाले का उम्मेदवार भगवती न्यौपानेले प्रत्यक्षतर्फ ५ हजार ८३० मत प्राप्त गर्दा समानुपातिकतर्फ एमालेले ५ हजार ९६० मत पाएको छ।
यस्तै नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विद्यानाथ ढकालले प्रत्यक्षतर्फ २ हजार ३९३ मत प्राप्त गरेका छन् भने समानुपातिकतर्फ उक्त पार्टीले २ हजार ८४८ मत पाएको छ।
