


दमौली, २५ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ तनहुँ जिल्लामा शान्तिपूर्ण, मर्यादित, भयरहित र उत्साहजनक रूपमा सम्पन्न भएको भन्दै जिल्ला सुरक्षा समिति तनहुँले सबै सरोकारवालाप्रति आभार व्यक्त गरेको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबार विज्ञप्ती जारी गरी सबै पक्षलाई धन्यवाद दिएको हो ।
मतगणनाको प्रक्रिया पूरा गरी फागुन २५ गते प्रत्यक्ष तथा समानुपातिक प्रणाली दुवैतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ।
निर्वाचन सफल बनाउन सहयोग पुर्याउने निर्वाचन आयोग, गृह मन्त्रालय, केन्द्रीय सुरक्षा समिति, केन्द्रीय कमाण्ड पोष्ट, प्रदेश कमाण्ड पोष्ट तथा निर्वाचन सेलका पदाधिकारीप्रति जिल्ला सुरक्षा समितिले कृतज्ञता व्यक्त गरेको छ।
यसैगरी निर्वाचनलाई व्यवस्थित बनाउन दिनरात खटिने जिल्लास्थित सुरक्षा निकायका पदाधिकारी, सुरक्षा गस्ती, स्ट्राइकिङ टोली, सूचना संकलनमा खटिएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई पनि धन्यवाद दिइएको छ।
त्यस्तै निर्वाचन व्यवस्थापन र मतदान प्रक्रिया सफल बनाउन भूमिका निर्वाह गर्ने मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, जिल्ला निर्वाचन अधिकारी, अनुगमन अधिकृत, मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी, शिक्षक, स्वयंसेवक तथा पर्यवेक्षकप्रति पनि समिति आभारी रहेको जनाएको छ।
नियमित, तथ्यपूर्ण र विश्वसनीय सूचना प्रवाह गर्ने सञ्चारकर्मी, सहयोग गर्ने जनप्रतिनिधि, राजनीतिक दल, उम्मेदवार, उद्यमी–व्यवसायी, नागरिक समाज र आम मतदाताप्रति पनि जिल्ला सुरक्षा समितिले आभार व्यक्त गरेको छ।
विज्ञप्तिमा निर्वाचनका क्रममा सबै सरोकारवालाले देखाएको सहिष्णुता, एकता र भाइचारापूर्ण व्यवहार आगामी दिनमा पनि कायम रहने विश्वास व्यक्त गरिएको छ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, प्रहरी उपरीक्षक टेकबहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक श्रीराम कुँवर, प्रमुख सेनानी हरि खड्का, उप–अनुसन्धान निर्देशक मनोज ढकालले संयुक्त विज्ञप्ती जारी धन्यवाद ज्ञापन गरेका हुन् ।