दमौलीमा ग्यास अभावविरुद्ध सामाजिक अभियन्ताको साङ्केतिक विरोध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दमौलीमा ग्यास अभावविरुद्ध सामाजिक अभियन्ताको साङ्केतिक विरोध

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०८२, बिहीबार

    दमौली, २८ फागुन । तनहुँको सदरमुकाम दमौली बजार क्षेत्रमा खाना पकाउने ग्यास अभाव भएको भन्दै सामाजिक अभियन्ता सुदीप गफ्फार र कृष्ण प्रजापतिले बिहीबार साङ्केतिक विरोध जनाएका छन् ।

    व्यास नगरपालिका–३ प्रशासन चोकमा खाली ग्यास सिलिन्डर राखेर उनीहरुले करिब एक घण्टा विरोध प्रदर्शन गरेका हुन्। स्थानीय बजारमा ग्यास नपाउँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको भन्दै उनीहरुले ध्यानाकर्षण गराएका हुन् ।

    अभियन्ता गफ्फारले ग्यास व्यवसायीले कृत्रिम अभाव सिर्जना गरेको आरोप लगाए । “नेपाल आयल निगमले देशभर ग्यास अभाव नभएको बताइरहेको छ, तर यहाँका व्यापारीले ग्यास छैन भन्दै उपभोक्तालाई फर्काइरहेका छन्,” उनले भने । 

    बजारमा ग्यास उपलब्ध नभएपछि विशेषगरी दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने परिवारहरू बढी समस्यामा परेका छन्। “ग्यास नपाउँदा भुइँमान्छेको दैनिकी नै प्रभावित भएको छ,” उनले भने ।

    विरोध कार्यक्रममा खाली ग्यास सिलिन्डर राखेर समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको थियो।

    अभियन्ता गफ्फारले स्थानीय तह र जिल्ला प्रशासनले समस्या समाधानका लागि आवश्यक पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । “ग्यास अभावबारे नागरिकले पटक–पटक गुनासो गरे पनि स्थानीय तह र प्रशासन मौन बसेको छ,” उनको भनाइ छ। 

    उनले उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन र कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि अनुगमन गर्न सम्बन्धित निकायसँग माग गरे ।