


गोरखा, ३० फागुन । गोरखाको सहिदलखन गाउँपालिका–३ कानटारमा विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । मनकामना मन्दिर दर्शन गरेर फर्कंदै गरेको बाप्र०१–००६ ख ८४३० नम्बरको माइक्रोबस आज राति करिब ८ः०० बजे दुर्घटनामा परेको थियो ।
दुर्घटनामा सात जनाको मृत्यु भएकामा तीमध्ये पाँच पुरुष र दुई जना महिला रहेका जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए । उनले माइक्रोबसमा सवार १५ जनामध्ये सात जनाको घटनास्थलमा नै मृत्यु भएको र अन्य आठ जना घाइते भएको बताए ।
घाइते सबैको उद्धार गरी उपचारका लागि तनहुँको आँबुखैरेनी अस्पतालमा पठाइएको छ । वडा नं ३ का अध्यक्ष दीपक पाण्डेका अनुसार माइक्रोबस सडकबाट करिब २०० मिटर तल खसेको थियो ।