


दमौली, २ चैत । प्रतिनिधिसभाको समानुपातिक तर्फको अन्तिम नामावली टुंगिँदा तनहुँ जिल्लाबाट कुनै पनि उम्मेदवार संसद् प्रवेश गर्न नसक्ने अवस्था बनेको छ। विभिन्न दलको बन्दसूचीमा नाम समावेश भए पनि क्लष्टर मिलान तथा महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने संवैधानिक प्रावधानका कारण तनहुँ शून्य भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बन्दसूचीमा तनहुँबाट रुपक घिमिरे, मानकाजी श्रेष्ठ र किशोर गन्धर्वको नाम समावेश थियो। तर समानुपातिकतर्फ महिला, दलित, आदिवासी जनजाति लगायतका समूहको प्रतिनिधित्व मिलाउनुपर्ने बाध्यताका कारण पुरुष उम्मेदवारहरू अन्तिम सूचीबाट बाहिर परेका छन्।
त्यस्तै नेपाली कांग्रेसको बन्दसूचीमा तनहुँकी इन्दिरा खनालको नाम रहे पनि अन्तिम चयनमा पर्न सकेनन्।
निर्वाचन प्रणालीअनुसार समानुपातिक सूची तयार गर्दा दलहरूले संविधानले तोकेको समावेशी सिद्धान्तअनुसार विभिन्न समुदाय, लिंग र भौगोलिक प्रतिनिधित्व मिलाउनुपर्छ। यही प्रक्रियामा तनहुँबाट नाम परे पनि अन्ततः कुनै उम्मेदवार संसद् प्रवेश गर्न नसकेको हो।
