


दमौली, २६ चैत । व्यास नगरपालिका वडा नम्बर ४ मा रहेको बेदव्यास प्राथमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना अभियान तथा घरदैलो कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न गरेको छ।
विद्यालयकी प्रधानाध्यापक सीता वाग्लेको नेतृत्वमा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति र शिक्षाप्रेमीहरूको टोलीले चुरेखोल्सी टोलका अभिभावकहरूसँग प्रत्यक्ष भेटघाट गरी शैक्षिक अवस्थाबारे जानकारी लिएको हो।
टोलीले चुरेखोल्सी टोल अन्तर्गतका कक्षा ५ सम्मको उमेर समूहका १८ जना बालबालिकाको परिवारसँग विस्तृत सर्वेक्षण गरेको थियो। सो अवसरमा अभिभावकहरूले निजी विद्यालयले दिने जस्तै सेवा र सुविधा सरकारी विद्यालयमा पनि उपलब्ध भए आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमै पढाउन इच्छुक रहेको धारणा व्यक्त गरे। स्थानीय अभिभावक तुलसी प्रसाद पौडेलले बोर्डिङको जस्तो वातावरण र सुविधाको ग्यारेन्टी भएमा आफ्ना सन्तानलाई सरकारी विद्यालयमै भर्ना गर्ने मनस्थिति बनाएको बताए ।
अभिभावकहरूको यस्तो चाहना र मागलाई सम्बोधन गर्दै कार्यक्रममा उपस्थित वडा सदस्य गौकुमारी न्यौपानेले वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले विद्यार्थीहरूको सहजताका लागि वडा कार्यालयले यातायातको सुविधा उपलब्ध गराउने आश्वासन समेत दिइन् ।
विद्यालयकी प्रधानाध्यापक सीता वाग्लेले विद्यालयमा अहिले खेलकुद, दिवा खाजा र गुणस्तरीय शिक्षाको उत्कृष्ट व्यवस्थापन रहेको उल्लेख गर्दै बोर्डिङकै स्तरमा शिक्षा दिन विद्यालय प्रशासन पूर्ण रूपमा तयार रहेको स्पष्ट पारिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश चन्द्र कार्की, लेखाजोखा संयोजक ईश्वर बास्तोला र चुरेखोल्सी टोल विकास संस्थाका अध्यक्ष हरिराज पौडेलको उपस्थिति रहेको उक्त कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाएको विश्वास लिइएको छ।