


दमौली, ३ वैशाख । पूर्व सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित जलाशयमा मोटरबोट गरेका छन् । नयाँ वर्ष २०८३ सालको अवसरमा रमाइलो गर्ने, घुम्ने क्रममा उनले परिवारसहित पृथ्वीराजमार्गमा अवस्थित मस्र्याङ्दी जलविद्युत केन्द्रको जलाशयमा मोटरबोटको मज्जा लिएका हुन् ।
पछिल्लो २ वर्षदेखि मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरि व्यवसायीक रुपमा यहाँ मोटरबोट सञ्चालन गरिरहेको छ ।
नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेका अग्नि र फिस्टेल नामका दुई मोटरबोट सञ्चालनमा ल्याइएको बोटेबोरा प्रालिका अध्यक्ष बि.बि. (बिष्णु) ढकालले बताएका छन् । उक्त जलाशयको किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालयको पनि व्यवस्था गरिएको छ ।
मोटरबोटमा घुम्न लाग्ने समयअनुसार फरक फरक शुल्क कायम गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार मोटरबोटमा सयर गर्न ६ देखि ८ मिनेटसम्म प्रतिव्यक्ति २५० रुपैयाँ, १० देखि १२ मिनेटको लागि ५ सय रुपैयाँ र १५ देखि २० एक हजार रुपैयाँ शुल्क लाग्ने छ ।
मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र डुम्रे बजारबाट काठमाडौंतर्फ १० किलोमिटर यात्रा गरेपछि बोटेबोराको मोटरबोट स्टेसन पुगिन्छ । स्टेसन आँबुखैरेनीबाट तीन किलोमिटर दूरीमा अवस्थित छ । उक्त रुटमा यात्रा गर्न सार्वजनिक यातायात सहजै पाइन्छ भने आफ्नै सवारीमा जाँदा पार्किङको समेत सुविधा छ ।
नेपालको जल पर्यटनमा टेवा पुर्याउँदै रोजगारी र नयाँ गन्तव्य सिर्जना गर्न अग्रसर बोटेबोरा नेपालको सबैभन्दा ठूलो मोटरबोट सन्चालन कम्पनी हो । बोटेबोराले नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट, सर्लाहीको भरततालका साथै सुर्खेतको बुलबुल तालमा पनि मोटरबोट सञ्चालन गरेको छ ।