


दमौली, ५ वैशाख । ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा विभिन्न विकास आयोजना समावेश गर्न आग्रह गरेका छन् । चुमानले प्राथमिकताका आधारमा योजनाहरू पेश गर्दै बजेट सुनिश्चित गर्न ध्यानाकर्षण गराएका हुन्।
चुमानले सडक, पुल, धार्मिक पर्यटन, स्वास्थ्य, शिक्षा र खानेपानी क्षेत्रका महत्त्वपूर्ण योजनाहरू अघि सारेका छन्। सडकतर्फ छिम्केश्वरी–हिलेखर्क–बन्दिपुर सडक स्तरोन्नतिका लागि ३० करोड, बरादी–हिलेखर्क (गिरनचौर–सातेँ खण्ड) सडकका लागि २० करोड, पुलजीप–घुमाउने हुँदै देवघाट जोड्ने सडकका लागि ५० करोड तथा आँबुखैरेनी रिङरोड मर्मतका लागि १० करोड बजेट माग गरिएको छ।
पुल निर्माणतर्फ घुमाउने पुल आगामी आर्थिक वर्षमै सम्पन्न गर्ने, बरालुङवेशीमा पक्की पुल निर्माण प्रक्रिया अघि बढाउने तथा पाँचकिलोस्थित जिर्ण झोलुङ्गे पुललाई स्थानान्तरण गरी नयाँ मोटरेबल पुल निर्माण गर्ने प्रस्ताव गरिएको छ। साथै छिम्केश्वरी सडक खण्डअन्तर्गत सिर्दी खोलामा मोटरेबल पुल निर्माणका लागि ८ करोड बजेट आवश्यक रहेको उल्लेख गरिएको छ।
धार्मिक पर्यटनतर्फ छिम्केश्वरी क्षेत्र विकासका लागि १० करोड, अकला क्षेत्रका लागि ५ करोड र आँधीमुल क्षेत्र विकासका लागि ५ करोड बजेट माग गरिएको छ।
स्वास्थ्य क्षेत्रमा आँबुखैरेनी–१ सत्रसयमा १० रोपनी जग्गा अस्पतालका लागि प्राप्त भइसकेको र थप १०० रोपनीसम्म विस्तार गर्न सकिने जनाउँदै सो क्षेत्रमा १०० शैयाको ट्रमा अस्पताल स्थापना गर्न आवश्यक बजेटको व्यवस्था गर्न आग्रह गरिएको छ। पृथ्वी राजमार्गसँग जोडिएको रणनीतिक स्थान भएकाले गोरखा, तनहुँ र लम्जुङका बासिन्दालाई समेत सेवा पुग्ने विश्वास लिइएको छ।
शिक्षातर्फ बहुप्राविधिक शिक्षालय स्थापना, आँबुखैरेनी क्याम्पसमा स्नातकोत्तर कार्यक्रम सञ्चालन, विभिन्न विद्यालयमा विद्युतिय बस, छात्रावास तथा आधुनिक प्रयोगशाला व्यवस्थापनका लागि बजेट माग गरिएको छ। साथै आधारभूत तथा माध्यमिक विद्यालयहरूको भौतिक पूर्वाधार सुदृढीकरणमा जोड दिइएको छ।
खानेपानीतर्फ हिलेखर्क–छिम्केश्वरी–लोप्राङ एकीकृत खानेपानी योजना निर्माणका लागि १० करोड तथा सत्रसय खानेपानी शुद्धिकरण योजनाका लागि ५ करोड बजेट विनियोजन गर्न प्रस्ताव गरिएको छ।
अध्यक्ष चुमानले प्रस्तुत गरिएका यी योजनाहरू आगामी बजेटमा समावेश हुने विश्वास व्यक्त गर्दै संघीय सरकारसँग समन्वयमा विकासलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन्।