


दमौली, ७ वैशाख । जिल्ला प्रशासन कार्यालय तनहुँले सोमबारदेखि आफ्ना केही सेवा साविक एकीकृत सेवा कार्यालय रहेको स्थानबाट सुरु गरेको छ ।
कार्यालयका अनुसार प्रशासन शाखा अन्तर्गतका विभिन्न सिफारिस तथा प्रशासनिक कार्य, भण्डारण शाखा, लेखा शाखा, साथै सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख जिल्ला अधिकारीको कार्यकक्षबाट प्रदान गरिने सेवाहरू अब सो ठाउँबाट सञ्चालन हुनेछन्।
यसअघि व्यास नगरपालिकाको दमौली हल भवनबाट सञ्चालन हुँदै आएका सेवाहरू पनि आजैदेखि सोही नयाँ कार्यालयमा स्थानान्तरण गरिएको जनाइएको छ।
कठिन परिस्थितिमा जिल्ला प्रशासनका सेवा सञ्चालन गर्न सहयोग पुर्याएकोमा व्यास नगरपालिकाप्रति धन्यवाद व्यक्त गर्दै कार्यालयले एकीकृत सेवा कार्यालयको भवन प्रयोग गर्न दिने निर्णय गरेकोमा गण्डकी प्रदेश सरकारप्रति विशेष आभार प्रकट गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नयाँ स्थानबाट सेवा सुरु गरिएको जानकारी दिएका छन्।