व्यास नगरपालिकाद्वारा एकीकृत घुम्ती शिविर आयोजना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिकाद्वारा एकीकृत घुम्ती शिविर आयोजना

    खबरपुञ्ज संवाददाता

    ७ बैशाख २०८३, मंगलवार

    दमौली, ८ वैशाख । तनहुँको व्यास नगरपालिका–१४ केशवटारमा मंगलबार एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ । नगरपालिकाको आयोजनामा भएको शिविरको उद्घाटन नगर प्रमुख वैकुण्ठ न्यौपानेले गरे ।

    शिविर उद्घाटन गर्दै प्रमुख न्यौपानेले जनताको सहजताका लागि वडामै पुगेर सेवा प्रदान गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको बताए । उनले नगरबासीलाई घर नजिकैबाटै विभिन्न सरकारी सेवा उपलब्ध गराउने लक्ष्यका साथ एकीकृत घुम्ती शिविरलाई प्रभावकारी बनाइएको उल्लेख गरे ।

    कार्यक्रममा उपप्रमुख इन्दिरा दरैले यस्ता शिविरले सेवाग्राहीलाई समय र खर्च दुवै बचत हुने बताउँदै नागरिकमैत्री सेवा प्रवाहमा टेवा पुग्ने धारणा राखिन् ।

    शिविरमार्फत नगरपालिकाबाट प्रदान गरिने विभिन्न सेवाहरु एकै स्थानबाट उपलब्ध गराइएको छ । जस अन्तर्गत व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता सम्बन्धी सेवा, स्वास्थ्य परीक्षण, कृषि तथा पशु सेवा, महिला तथा बालबालिका सम्बन्धी परामर्श, राजस्व संकलन लगायतका सेवा प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।

    स्थानीय बासिन्दाले घरदैलोमै सेवा पाउँदा खुसी व्यक्त गरेका छन् । यस्ता कार्यक्रमले विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा टाढा रहेका बस्तीका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको बताइएको छ ।