


दमौली, ८ वैशाख । तनहुँको भानु नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भानु नगर सभापतिको नेतृत्वमा नगर कार्यपालिकाको कार्यालय पुगेर विभिन्न जनसरोकारका विषयमा ध्यानाकर्षण गराइएको छ।
रास्वपाको टोलीले नगर क्षेत्रभित्र सेवा प्रवाहसँग सम्बन्धित कार्यालय परिसर नियमित सरसफाइ गर्न माग गरेको छ। साथै, भन्सार–चन्द्रावती सडकखण्ड अन्तर्गत भानु–१ को भन्सार क्षेत्रमा वर्षाका कारण हुने दुर्घटना न्यूनिकरण गर्न तत्काल सब–ग्रेड र सब–बेस कार्य अघि बढाउन आग्रह गरिएको छ।
त्यसैगरी, नयाँ शहर आयोजना अन्तर्गत भन्सार–भानुचोक क्षेत्रमा रहेका सडक बत्ती तत्काल मर्मत गर्नुपर्ने माग गरिएको छ। भानु जन्मस्थल मार्ग र कालिमाटी कुञ्चा मार्गको निर्माण कार्य तीव्र बनाउन, अन्यथा ठेक्का प्रक्रिया रद्द गर्न समेत रास्वपाले चेतावनी दिएको छ।
पुरण्डिही नगर अस्पतालसम्मको सडक तत्काल ढलान गर्नुपर्ने माग पनि ध्यानाकर्षण पत्रमा समेटिएको छ।
यस्तै, पालुङटार नगरपालिका–७ मा सञ्चालनमा रहेको भट्टराई पोल्ट्रीबाट निस्कने दुर्गन्धका कारण भानु नगरपालिका–१ लगायतका क्षेत्रमा परेको जनस्वास्थ्य असरबारे गोरखा प्रशासनसँग समन्वय गरिएको र प्रशासनले आवश्यक कारबाही अघि बढाउने प्रतिबद्धता जनाएको नगर सचिव सन्देश आचार्यले जानकारी दिएका छन्।