


दमाैली, १३ वैशाख । व्यास नगरपालिकाभित्र सञ्चालित संस्थागत (बोर्डिङ) विद्यालयहरूको कानुनी वैधानिकता र नियमनप्रति गम्भीर प्रश्न उठाउँदै एक सचेत नागरिकले नगर शिक्षा शाखालाई ध्यानाकर्षणपत्र बुझाएका छन्।
नगर शिक्षा अधिकारी केदार आचार्यलाई सम्बोधन गर्दै पेश गरिएको पत्रमा स्थानीय तहलाई शिक्षा क्षेत्रको व्यवस्थापन, अनुगमन र नियमन गर्ने पूर्ण अधिकार भए पनि व्यास नगरपालिकामा संस्थागत विद्यालयहरूको प्रभावकारी नियमन हुन नसकेको आरोप लगाइएको छ। नयाँ शैक्षिक सत्रसँगै भर्ना अभियान चलिरहेका बेला विद्यालयहरूको कानुनी अवस्था स्पष्ट नभएको विषयलाई गम्भीर रूपमा उठाइएको हो।
पत्रमा प्रचलित कानुनअनुसार संस्थागत विद्यालयहरू कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई, आन्तरिक राजस्व कार्यालयबाट स्थायी लेखा नम्बर प्राप्त गरी नियमित लेखापरीक्षण तथा कर चुक्ता प्रमाणपत्र लिनुपर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ। तर, नगर शिक्षा शाखाले दशकौँ पुरानो सञ्चालन अनुमतिपत्रलाई मात्रै आधार मानेर विद्यालयहरूको वैधानिकता सुनिश्चित गरिरहेको आरोप लगाइएको छ।
ध्यानाकर्षणपत्रमा धेरै विद्यालयहरूले वार्षिक नवीकरण नगरेको, कर नतिरेको, सुरक्षण धरौटी रकमसमेत दुरुपयोग भएको जस्ता गम्भीर विषय औंल्याइएको छ। पाँच वर्षे मुद्दती खातामा राख्नुपर्ने धरौटी रकम समयमै झिकेर खर्च गरिए पनि त्यसको अनुगमन नभएको उल्लेख गरिएको छ।
त्यस्तै, कानुनी अस्तित्व नै नभएको भनिएको ‘तनहुँ तक्षशिला एकेडेमी’ नामक विद्यालय सञ्चालनमा रहेको उदाहरण दिँदै यस्तो अवस्था नियमन निकायका लागि गम्भीर चुनौती भएको उल्लेख गरिएको छ। उक्त विद्यालयको नाममा सवारी साधन सञ्चालन र विद्यार्थी भर्ना भइरहँदा पनि कानुनी अवस्था अस्पष्ट रहेको दाबी गरिएको छ।
पत्रमार्फत आगामी एक हप्ताभित्र सबै संस्थागत विद्यालयहरूको छानबिन गरी कानुनअनुसार दण्ड, सजाय वा प्रोत्साहनको व्यवस्था गर्न माग गरिएको छ। अन्यथा यस्ता विषयहरू प्रमाणसहित सार्वजनिक गरिने चेतावनीसमेत दिइएको छ।
ध्यानाकर्षणपत्रमा सम्बन्धित निकायलाई आफ्नो अधिकार प्रयोग गर्दै शिक्षा क्षेत्रको सुधारमा केन्द्रित हुन आग्रह गरिएको छ।