


दमौली, १९ वैशाख । व्यास नगरपालिकाले चालु आर्थिक वर्षमा ५२ गर्भवतीलाई पोषण भत्ता उपलब्ध गराएको छ । नवजात शिशु र आमा दुबैको स्वास्थ्य स्याहार र सुरक्षाका लागि नगरपालिकाले गर्भवतीलाई पोषण भत्ता उपलब्ध गराएको हो ।
नगरपालिकाभित्र रहेका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीन पटक (४, ६ र ८ महिना) गर्भवती महिलालाई आठ महिनामा मातृ शिशुकार्डको आधारमा रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । ५२ जनालाई रु दुई लाख ६० हजार प्रोत्साहन रकम वितरण गरिएको छ ।
सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिन आकर्षित गर्न सुत्केरीलाई पोषण भत्ता दिइएको जनाइएकाे छ । गर्भवती महिलाको स्वास्थ परीक्षण नगर्दा र घरमै बच्चा जन्माउँदा आमा र शिशु दुवैको स्वास्थ्य समस्या पर्ने भएकाले यसको अन्त्यका लागि भत्ता उपलब्ध गराउन थालिएको हो । महिलासँग उपमेयर कार्यक्रम अन्तर्गत नगरभित्र सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिन थालिएकाे हाे ।
नगरपालिकाले चालु आर्थिक वर्षमा ६० जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ ।