


दमौली, २२ वैशाख । आँबुखैरेनी सेवा समाजले नाला सफाइ तथा सडक मर्मतको माग गर्दै डिभिजन सडक कार्यालय दमौलीमा ज्ञापनपत्र पेश गरेको छ ।
आँबुखैरेनी गाउँपालिका–३ अन्तर्गत मिलनचोक टोल सुधारदेखि चिसापानी हुँदै सिद्धगणेश टोलसम्मका नालाहरू लामो समयदेखि सफा नगरिँदा जाम भई दुर्गन्ध फैलिएको र डेंगुजस्ता रोगको जोखिम बढेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

त्यसैगरी, वर्षायाममा नालाहरू ओभरफ्लो भई सडकमा पानी जम्दा बजार क्षेत्र प्रभावित हुने गरेको र मिलनचोक तथा चिसापानी क्षेत्रमा सडक खाल्टो परेका कारण सवारी दुर्घटनाको जोखिम बढेको पनि जनाइएको छ।
समाजका अध्यक्ष मनोजकुमार श्रेष्ठले तत्काल नाला सफा र सडक मर्मत गरी जनस्वास्थ्य तथा यात्रु सुरक्षामा ध्यान दिन आग्रह गरेका छन्।