गण्डकी प्रदेशस्तरीय महिला पुरुष भलिबल : पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गण्डकी प्रदेशस्तरीय महिला पुरुष भलिबल : पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०८३, आईतवार

    दमौली, २७ वैशाख । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा जारी गण्डकी प्रदेशस्तरीय महिला पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ तनहुँ र पर्वत फाइनल प्रवेश गरेका छन् । यस्तै महिलातर्फ कास्की र म्याग्दी फाइनल प्रवेश गरेका छन् ।

    व्यास नगरपालिका–३ खुल्लामैदानमा आज बिहान भएको पहिलो सेमिफाइनल खेलमा गोरखालाई हराउँदै पर्वत फाइनल प्रवेश गरेका हो । पर्वतले गोरखालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

    यस्तै दोस्रो सेमिफाइनल खेलमा नवलपुरलाई पराजित गर्दै तनहुँ जिल्लाले फाइनलको यात्रा तय गरेको छ । तनहुँले नवलपुरलाई ३–१ सेटले पराजित गरेको छ ।

    महिलातर्फको सेमिफाइनल खेलमा तनहुँलाई हराउँदै कास्की जिल्ला फाइनल प्रवेश गरेको छ । यस्तै दोस्रो सेमिफाइनल खेलमा पर्वतलाई हराउँदै म्याग्दी जिल्ला फाइनल प्रवेश गरेको छ ।

    तेस्रो स्थानका लागि पुरुषतर्फ गोरखा र नवलपुरबीच तथा महिलातर्फ तेस्रो स्थानका लागि पर्वत र तनहुँबीच खेल हुनेछ ।

    फाइनल खेल आज दिउँसो ३ बजे हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।

    निकट भविष्यमा हुने दशौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशको भलिबल टिम छनोटका लागि यहाँ प्रदेशस्तरीय महिला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।

    छनोट खेल भएकाले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः३० हजार, रु २० हजार र रु १५ हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा पुरुषतर्फ मनाङ बाहेक १० जिल्ला र महिलातर्फ ११ वटै जिल्लाको सहभागिता रहेको छ ।