


दमौली, २९ वैशाख । बन्दीपुर गाउँपालिकाको आर्थिक सहयोग तथा सार्थक मिलन नेपालको आयोजनामा सञ्चालित मौरीपालन सम्बन्धी पाँच दिने तालिम मङ्गलबार सम्पन्न भएको छ । जीविकोपार्जन सुधार, स्वरोजगार सिर्जना तथा कृषकहरूको आर्थिक सशक्तीकरण गर्ने उद्धेश्यले सञ्चालन गरिएको तालिममा सहभागीहरूले मौरी पालनसम्बन्धी व्यावहारिक तथा सीपमूलक ज्ञान हासिल गरेका छन् ।
तालिम समापन कार्यक्रममा सार्थक मिलन नेपालका अध्यक्ष मिलन भुजेलले मौरीपालनलाई ग्रामीण आयआर्जनको प्रभावकारी माध्यमका रूपमा विकास गर्न यस्ता सीपमूलक तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन् । उहाँले सहभागीहरूले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरिन् ।
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले गाउँपालिकाले कृषिमा आधारित उद्यमशीलता विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यस्ता तालिमले स्थानीय उत्पादन वृद्धि, स्वरोजगार सिर्जना तथा आर्थिक समृद्धिमा टेवा पुग्ने बताए ।
उनले भने, “मौरीपालन जस्तो सम्भावनायुक्त क्षेत्रमा युवालाई आकर्षित गर्दै सीप र प्रविधिसँग जोड्न सके गाउँमै रोजगारी सिर्जना गर्न सकिन्छ । गाउँपालिका आगामी दिनमा पनि कृषकलाई लक्षित यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ ।”