


दमौली, १३ जेठ । महिला उद्यमी सङ्घ नेपाल तनहुँले सञ्चालन गरेको सात दिने अचार बनाउने तालिममा सहभागी महिलाहरूले सीपसँगै व्यवसायिक सम्भावनाका नयाँ अनुभव बटुलेका छन्।
तालिममा सहभागी आरती खनालले परम्परागत रूपमा घरमै बनाइने अचारलाई अब व्यवसायिक रूपमा उत्पादन र बजार व्यवस्थापन गर्न सकिने आत्मविश्वास बढेको बताइन् । “अचार बनाउने सीपले अब घरमै बसेर पनि आम्दानी गर्न सकिने आत्मविश्वास बढाएको छ” उनले भनिन्।
तालिममा सहभागी अर्की लिला प्रधान श्रेष्ठले तालिमले केवल अचार बनाउन मात्र नभई सरसफाइ, गुणस्तर, प्याकेजिङ तथा बजार व्यवस्थापनबारे पनि जानकारी दिएको बताइन् । श्रेष्ठले भनिन्, “पहिले सामान्य रूपमा बनाइने अचारलाई अब बजारको माग अनुसार आकर्षक ढङ्गले तयार गर्न सिक्यौँ ।”घरायसी सीपलाई आयआर्जनसँग जोड्न सकिने रहेछ भन्ने अनुभूति तालिमबाट भएको सहभागीको कोपिला थापाको भनाइ थियो।
तालिम लिएपछि आफै व्यवसाय सुरु गर्ने योजना बनाएको अमिना खातुनले सुनाइन्। तालिममा सहभागी अधिकांश महिलाहरूले सानो स्तरबाट भए पनि आफ्नै व्यवसाय सुरु गर्ने योजना बनाएको बताएका छन्।
महिला उद्यमी संघ नेपाल तनहुँकी अध्यक्ष निर्मला मल्लले सीपलाई व्यवसायसँग जोड्न आग्रह गरिन् । उनले यस्ता सीपमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरिन् ।
समापन कार्यक्रमका प्रमुख अतिथि व्यास नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष काशीराम श्रेष्ठले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताएका थिए ।
कार्यक्रममा वडा सदस्यहरू जगतबहादुर क्षेत्री बानिया, सुरेश वाग्ले, साना रफत मिया, सविता रसाइली, वडा सचिव पम्फा बस्नेत, मादी सेती सहकारीकी अध्यक्ष सुशीला शर्मा, पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारी, शुक्लागण्डकी महिला उद्यमी संघ इकाइ सभापति सपना पराजुली, गैसस महासङ्घ अध्यक्ष सरला श्रेष्ठ लगायतले बोलेका थिए । सङ्घीय सचिव मञ्जु थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सरु श्रेष्ठले गरेकी थिइन्।
उक्त तालिममा तुलसी शाहले विभिन्न प्रकारका अचार बनाउने तरिका, सरसफाई,गुणस्तर, अचारको लेबलिङ, प्याकेजिङ लगायतका बारेमा प्रशिक्षण दिएकी थिइन्।