सिजी होटल्स एण्ड रिसोर्टको छाता भित्र टाइगरल्याण्डदेखि क्राउन प्लाजासम्म
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सिजी होटल्स एण्ड रिसोर्टको छाता भित्र टाइगरल्याण्डदेखि क्राउन प्लाजासम्म

    खबरपुञ्ज संवाददाता

    १४ जेष्ठ २०८३, शुक्रबार

    काठमाडौँ, १५ जेठ । सिजी होल्डिङ्सअन्तर्गत सञ्चालन भइरहेका होटल तथा रिसोर्टहरु अब सिजी होटल्स एण्ड रिसोर्टको एउटै छाताभित्र रहेर सञ्चालन हुने भएको छ। बिहीबार ललितपुरको द प्लाजामा आयोजित कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक सूर्यान्श चौधरीले सिजी होल्डिङ्स अन्तर्गतका सबै होटल र रिसाोर्ट अब सिजी होटल्स एण्ड रिसोर्टको छाता भित्र रहेर सञ्चालन हुने जानकारी दिए।

    चौधरीका अनुसार सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गत हाल ललितपुरको पुलचोकस्थित पाँच तारे क्राउन प्लाजा, द प्लाजा, चितवनको जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी, नगरकोटमा रहेको भंगेरी दरबार रिसोर्ट र मेराकी वेलनेस रिट्रिटलाई समावेश गरिएको छ । साथै आगामी दिनमा सञ्चालन हुने होटल तथा रिसोर्टलाई पनि यहीँ छाताभित्र रहने उनले बताए।

    कम्पनीका अनुसार पुलचोकस्थित क्राउन प्लाजा विसं २०८३ भित्रै सञ्चालनमा आउनेछ । होटलको व्यवस्थापन ग्लोबल कम्पनी इन्टरकन्टिनेन्टल हस्पिटालिटी ग्रुप (आईएचजी)ले गर्ने छ । सोल्टी होटलको व्यवस्थापन छाडेको करिब ६ वर्षपछि आईएचजी सिजी होल्डिङमार्फत नेपाल आउन लागेको हो । 

    उक्त होटलमा १७५ कोठा हुनेछन् भने रुफटपसहित विभिन्न रेष्टुरेन्टको पनि सुविधा उपलब्ध हुनेछ । होटलमा ६ वटा हल हुनेछन् भने सबैभन्दा ठूलो हल पाँच हजार वर्ग फिटको हुनेछ । विसं २०७६ वैशाखमा शिलायन्यास गरिएको यो होटल यस वर्षदेखि सञ्चालनमा आउन लागेको हो । होटलको चौथो तलादेखि रुमहरु सुरु हुनेछन् भने होटलबाट काठमाडौँ उपत्यकाको फराकिलो दृश्य अवलोकन गर्न सकिनेछ । क्राउन प्लाजा होटल आधुनिक विलासितको झल्को दिने गरी निर्माण गरिएको छ । होटलको सबैभन्दा आकर्षण रुफटप प्लाजा हो । होटलको १२ औँ तलामा रहने रुफटपबाट काठमाडौँ उपत्यकाको ३६० डिग्री भ्यु हेर्न सकिनेछ । 

    सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गतको अर्को रिसोर्ट हो, नगरकोटको भंगेरी दरबार रिसोर्ट। आठ वर्षअघि निर्माण सुरु भइ गत वैशाखदेखि सञ्चालनमा आएको लक्जरी रिसोर्ट भंगेरी दरबारको झल्को दिने गरी निर्माण गरिएको छ । चन्द्र शमशेरले नगरकोटमा निर्माण गरेको भंगेरी दरबारको नामबाट रिसोर्ट निर्माण गरिएको हो । होटलमा ५१ वटा कोठा छन् । पर्यटकलाई गुणस्तरीय सेवा सुविधा दिने उद्देश्यले अत्याधुनिक सुविधा उपलब्ध गराइएको छ । रिसोर्टबाट सगरमाथालगायतका हिमाल र सूर्योदय अवलोकन गर्न सकिन्छ । साथै काभ्रेपलाञ्चोक र सिन्धुपालचोकका पहाडी बस्ती अवलोकन गर्न पाउनुका साथै धुलिखेल, चिसापानी, चांगुनारायणलगायतका स्थानमा पदयात्रामार्फत पुग्न सकिन्छ । 

    कम्पनीले सिजी होटल्स एण्ड रिसोर्टअन्तर्गत चितवनको जगतपुरमा रहेको टाइगरल्याण्ड सफारीलाई पनि समेटेको छ । अन्तर्राष्ट्रिय चेन हस्पिटालिटी लेमन ट्रिको व्यवस्थापनमा सञ्चालन भइरहेको यो वाइल्ड लाइफ रिसोर्ट चितवन राष्ट्रिय निकुञ्जको उत्तरी सीमामा अवस्थित छ । छ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्ट जंगल थिममा ३२ वटा प्राइभेट भिल्ला निर्माण गरिएको छ । 

    रिसोर्टमा वाइल्ड लाइफ गतिविधि पनि सञ्चालनमा छन् । कम्पनीका अनुसार जिप सफारी क्यानोइङ, जंगल वाक, भिलेज वाक, थारु सांस्कृतिक नृत्यलगायतका गतिविधि सञ्चालनमा छन् । कर्पोरेट इभेन्ट र डेस्टिनेसन वेडिङका लागि पनि रिसोर्ट उपयुक्त गन्तव्यका रुपमा विकास भइरहेको छ । रिसोर्टका भिल्लाबाटै जंगली जनावरका गतिविधि पनि अवलोकन गर्न सकिने कम्पनीको भनाइ छ ।

    कम्पनीका अनुसार ललितपुरको पुलचोकमा सञ्चालनमा रहेको नेपालको सबैभन्दा ठूलो मल्टिभेन्यु द प्लाजा पनि सिजी होटेल्स एण्ड रिसोर्टको छाता भित्र सञ्चालनमा ल्याइएको छ । द प्लाजामा कूल १२ हजार वर्गफिटको ठूलो हलमा थिएटर सेटअपमा एकैसाथ दुई हजार पाँच सयभन्दा बढी व्यक्ति बसेर कार्यक्रम गर्न सकिन्छ । यहाँ तीन सयभन्दा बढी कार पार्किङको सुविधा छ । द प्लाजामा मागअनुसार आधुनिक र उच्च प्रविधिको साउण्ड तथा लाइट, सांस्कृतिक कार्यक्रम, मल्टिमिडिया र अडियो भिजुअललगायतको सुविधा ब्यवस्था हुनेछ ।

    यसैगरी काठमाडौँको बुढानिलकण्ठस्थित मेराकी वेलनेस रिट्रिट सञ्चालनमा छ । काठमाडौँ उपत्यकाको नजिक वेलनेसलाई प्राथमिकता दिएर सञ्चालनमा आएको यो रिसोर्टले पनि जंगलभित्रै आवासको अनुभूति दिन्छ।