


दमौली, १९ जेठ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वीराजमार्ग सडकखण्डबाट प्रहरीले ७०७ चक्की लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
मंगलबार साँझ करिब ५ बजे अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुलजिप तनहुँबाट खटिएको पाँच सदस्यीय चेकिङ टोलीले सवारी साधन जाँच गर्ने क्रममा मुग्लिङबाट दमौलीतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ ख ००३३ नम्बरको बसमा सवार धादिङको नीलकण्ठ नगरपालिका–१२ निवासी २६ वर्षीय प्रकाश बिकलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रकाशले पछाडि भिर्ने झोलाभित्र लुकाई राखेको अवस्थामा ७०७ चक्की लागुऔषध फेला परेको थियो। लागुऔषधसहित उनलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनी ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।