


दमौली, २० जेठ । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस तथा निर्दोष बालबालिकामाथि हुने अत्याचारविरुद्धको दिवसको अवसरमा व्यास नगरपालिकाले जेठ २१ गते बिहीबार सार्वजनिक बिदा दिएको छ।
नगरभित्रका सम्पूर्ण कार्यालय, सामुदायिक तथा निजी शैक्षिक संस्था र स्वास्थ्य संस्थाहरू (अत्यावश्यक सेवाबाहेक) मा स्थानीय बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बताए ।

नगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार उक्त दिवसको सन्दर्भमा जेठ २१ गते नगरभित्रका सबै समुदाय, जनप्रतिनिधि, राजनीतिक दल, शैक्षिक तथा व्यावसायिक क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा सामाजिक सद्भाव, समानता तथा जातीय विभेद अन्त्यका विषयमा विशेष कार्यक्रम आयोजना गरिएको छ।
व्यास नगरपालिकाद्वारा दमौली सभाहलमा बिहान ११ बजे आयोजना हुने कार्यक्रममा नगरवासीहरूको सक्रिय सहभागिताका लागि अनुरोध गरिएको छ।