


दमौली, २४ जेठ । तनहुँको व्यास नगरपालिका–१० दुम्सिचौर क्षेत्रमा अचेत अवस्थामा फेला परेका एक अज्ञात पुरुषको शनिबार उपचारका क्रममा मृत्यु भएको छ ।
नाम, थर र ठेगाना नखुलेका अन्दाजी ३५ देखि ४० वर्ष उमेरका पुरुषको मृत्यु भएको हो । स्थानीयवासीले देखेपछि प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो ।
अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
मृतकको हुलिया अनुसार उनले शरीरको माथिल्लो भागमा कालो रङको लेजेण्ड लेखिएको टिसर्ट लगाएका थिए भने निलो रङको जिन्स पाइन्ट लगाएका थिए। दाह्री र कपाल पालेका तथा दाह्री हल्का फुलेको अवस्था रहेको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान खुलाउन स्थानीयवासी तथा सम्भावित आफन्तसँग बुझ्ने प्रयास गरिए पनि हालसम्म कुनै विवरण प्राप्त नभएको उनले बताए ।